झापामा ४९ मतदान केन्द्र अति संवेदनशील सूचीमा
झापा: विहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतदानका लागि झापामा सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्रहरुको स्थापनासँगै मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा समेत जडान गरिसकिएको छ ।
निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका र उनीहरुले सम्पादन गर्नुपर्ने कार्य पनि लगभग सकिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । सुरक्षाका निम्ति केही चुनौती भए पनि सुरक्षाका सबै संयन्त्र परिचालन गरिसकेकाले मतदातालाई मतदान केन्द्रमा निर्भयका साथ मतदान गर्न झापाका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पाँच लाख ८५ हजार २२८ मतदाता रहेको झापाका पाँचवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना उम्मेदवार गरी कुल १ सय ४१ उम्मेद्वार चुनावी मैदान छन् । निर्वाचनलाई व्यवस्थित बनाउन झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै ४९ अतिसंवेदनशील, १०४ संवेदनशील र १३० वटालाई सामान्य छुट्याएर सोही अनुसार सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए । मतदान सम्पन्न भएपछि सुरु हुने मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन पाँच वटै निर्वाचन क्षेत्रको मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा समेत जडान गरिएको छ ।