संघीय प्रहरी ऐनको मस्यौदा तयार, ३० वर्षे सेवा अवधि हटाउने तयारी


२०७५ चैत २ शनिबार १५:४२ बजे

काठमाडौं, २ चैत । सरकारले नेपाल प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवा अवधि हटाउने तयारी गरेको छ ।

उमेर हद र पदावधि मात्र कायम गर्ने गरी संघीय प्रहरी ऐनको मस्यौदा सरकारले तयार पारेको हो । सरकारले तयार पारेको संघीय प्रहरी ऐन मस्यौदामा ३० वर्षे सेवा अवधि हटाएर प्रमुखको कार्यकाल र उमेरलाई आधार मान्ने प्रस्तार पारेको छ । उक्त प्रस्ताव संसदबाट अनुमोदन भएलगत्तै लागू हुनेछ ।

हाल तयार पारिएको मस्यौदामा प्रहरी महानिरीक्षकको उमेरहद ५८ वर्ष र कार्यकाल तीन वर्ष, प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर हद ५७ वर्ष र कार्यकाल दुई वर्ष, प्रहरी नायब महानिरीक्षकको उमेर हद ५६ वर्ष र कार्यकाल चार वर्षको रहने व्यवस्था छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले ३० वर्षे अवधि रहने वा हटाउने भन्नेमा विभिन्न धारणा आएकाले यो विषय छलफलमै रहेको बताएका छन् । ३० वर्षे प्रावधान कायम गरिंदा मुलुकलाई ठूलो आर्थिक व्ययभार परेको प्रहरी अधिकृतहरु बताउँछन् ।

धेरै मुलुकले प्रहरीको उमेर हद ६० वर्षको कायम गरिएको अधिकारीहरु बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी मुलुकको आर्थिक भार कम गर्न ३० वर्षे अवधि हटाउँदा नै उत्तम हुने बताउँछन् ।

प्रस्तावित मस्यौदा संसदबाट अनुमोदन भए हालका प्रहरी महानिरीक्षकको समयावधि एक वर्ष बढ्नेछ । अर्कोतिर आगामी वर्ष तीन जना अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्की, धीरु बस्नेत र ठूले राईले अवकाश पाउने छन् । यस्तै, मस्यौदामा तीन अतिरिक्त प्रहरी महानिरीक्षक र दुई प्रहरी नायब महानिरीक्षक रहने प्रस्ताव गरिएको छ ।

यो प्रस्तावका आधारमा हालका प्रहरी नायब महानिरीक्षकमध्ये केदार रिजाल, सुरेशविक्रम शाह, मनोज न्यौपाने अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा हुनेछन् । प्रस्तावित दुई प्रहरी नायब महानिरीक्षक पदमा भने ९ जना प्रहरी वरिष्ठ उपरीक्षकको प्रतिष्पर्धा हुनेछ । प्रस्तावित कानुनले महानिरीक्षकसहित माथिल्ला तहका प्रहरीलाई सेवा बढाउन मद्दत पुर्‍याउँछ । तर, निरीक्षक, उपरीक्षक तहका सयौं प्रहरीको स्वाभाविक बढुवामा भने असर पुर्‍याउने देखिन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७