हुसेन हत्याको आशंकामा ६ भारतीय पक्राउ (अपडेट)
सुनसरी, ५ मंसिर । सुनसरीमा ‘मर्निङ वाक’ मा निस्किएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा ६ भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ परेका सबै भारतीय मूलका र जय बाबा इँटा उद्योगकै कामदार र सक्युरिटी गार्ड रहेको प्रहरीले जानकारी दिएको छ । सुनसरीको दुहबी–९ मा सञ्चालित उद्योगका सुपरभाइजर हुसेनमाथि बुधबार (आज) बिहान गोली प्रहार भएको थियो ।
‘हत्याको आशंकामा ६ जना पक्राउ परेका छन् । पक्राउ परेका सबै भारतीय मूलका नागरिक हुन् । थप अनुसन्धान जारी छ’, प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने । हुसेनको हत्यापछि दुहबीका स्थानीयले दोषीमाथि कार्बाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
सुनसरीमै यसअघि भारतीय सुटरको समूहले हरिनगर–२ मा एक विद्यालयका अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरेको थियो । आलमका हत्याराको अझै पहिचान हुन सकेको छैन ।