चितवन पुगे रवि लामिछाने, कहिले हुन्छन् अदालतमा उपस्थित ?
काठमाडौं । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना अभियोगमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन पुगेका छन् । लामिछाने गए राति नै स्थलमार्ग हुँदै चितवन पुगेको रास्वपा जिल्ला सभापति कृष्ण भुसालले जनाएका छन् ।
उनी चितवन आइपुगे पनि आजै बयानका लागि उपस्थित हुने नहुने टुंगो नभएको भुसालले बताएका छन् । रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ । यता पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई ठगी मुद्दामा मात्रै प्रतिवादी बनाएर मुद्दा दर्ता गरेपछि सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको सरुवा भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा मंगलबार लामिछानेविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता गरेको थियो । महान्यायाधिवक्ता रमेश बडालले लुइँटेलको सरुवा गरेका हुन् । उनलाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ । चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ । प्रहरीले संगठित अपराध र ठगी दुबै मुद्दा लगाउन सुझाव दिए पनि लामिछानेलाई सरकारी वकिल कार्यालयले ठगीमा मात्र मुद्दा दर्ता गरेको छ ।
सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिए पनि लुइँटेलको डेढ वर्ष नपुग्दै काज सरुवा गरिएको स्रोतले बतायो। ‘बढुवा भएर जाने बाहेक सामान्यतया दुई वर्ष नपुग्दै सरुवा हुँदैन । उहाँले अघिल्लो वर्ष कात्तिक २० गतेदेखि चितवनमा जिम्मेवारी सम्हाल्नु भएको थियो,’ स्रोतले भन्यो, ‘२०८१ माघ २२ गते बेलुका सात बजेतिर काज सरुवाको चिठी आयो ।’