माओवादीको जिम्मेवारीमा फर्किए पूर्व उपराष्ट्रपति पुन
काठमाडौं । धेरै पटकको छलफल र बहसपछि अन्ततः नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई पार्टीको जिम्मेवारी दिएको छ । सोमबार बसेको पदाधिकारी (कार्यालय) बैठकले उनको रुची अनुसारकै उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
यद्यपि, उनको पार्टीमा कुन तहको जिम्मेवारीबारे भने अझै निर्णय भइसकेको छैन । उनी उपाध्यक्षकै हैसियतमा बैठकमा सहभागी भइरहेका छन् । माओवादी नेताहरु भने उनलाइ आमन्त्रित रुपमा सहभागी गराइएको दाबी गर्छन् ।
‘पासाङजीलाई उत्पादन हेर्ने क्षेत्रको जिम्मेवारी दिइएको छ,’ ती नेताले भने, ‘पार्टीमा पनि पदाधिकारी लेभलको जिम्मा दिने भनिएपनि स्टाटस प्रष्ट भइसकेको छैन ।’ पार्टी अध्यक्ष प्रचण्डले उनलाई उपाध्यक्ष दिने वचन दिईसकेका छन् । उपराष्ट्रपतिबाट हटेको २२ महिना र पार्टी राजनीति छोडेको नौं वर्षपछि पुन पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।
२०७२ कार्तिक १३ गते पहिलो पटक उपराष्ट्रपति भएका उनी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका थिए। पासाङ २०७९ चैत ६ गते उपराष्ट्रपतिको भूमिकाबाट बाहिरिएपछि केही समय निस्क्रिय जस्तै बसेका थिए । २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा जन्मिएका उनी हाल ६० वर्षका भए ।