मन्त्रीको गाडीलाई साइड नदिएपछि ...
काठमाडौं । मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै आज (मंगलबार) तीन वटा ट्रकलाई कारबाही गरिएको छ ।लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको लु. १ झ ७३८ नम्बरको गाडीलाई साइड नदिएको भन्दै तीन वटा ट्रक कारबाही गरिएको हो ।
हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तु नगरपालिका सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा जाँदै गरेको मन्त्री कार्कीको गाडीलाई साइड नदिएको भन्दै प्र१०२००१ख ८४७३, ३३५१ र ९२०७ नम्बरको गाडीलाई पाँच सयको दरले कारबाही गरिएको हो । मन्त्री कार्कीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले मालवाहक ट्रक रोकेर ट्राफिकलाई जबरजस्ती कारबाही गर्न निर्देशन दिएको बताइएको छ ।
मैदा लिएर नेपालगञ्जबाट विराटनगर जाँदै गरेका ट्रकचालकहरूले भने आफूहरूलाई सत्ताको दम्भ देखाएर कारबाही गरेको आरोप लगाएका छन् । ‘हामी सामान्य गतिमा थियौँ, एक्कासी गाडीले ओभरटेक गरेर अगाडि तेस्र्यायो र ट्राफिक बोलाएर जबरजस्ती जरिवाना तिराइयो,’ चालक दिलबहादुर कटुवालले भने । ‘पछाडि को आएको छ कसरी हेर्ने ? साइड मिररबाट मन्त्री चिन्न सकिन्न, पेल्ने हामी गरिखानेलाई त हो, कानुन हाम्रै लागि बनेको रैछ,’ उनले गुनासो गर्दै भने ।
मंगलबार बिहान ९ बजे भालुवाङबाट भैरहवामा आयोजित जनस्वास्थ्यको कार्यक्रमका लागि हिँडेका मन्त्री कार्कीको गाडी आफै तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका थिए । सो सम्बन्धमा मन्त्रीका पिएसओ प्रहरी हवल्दार खत्रीले भने ट्रक चालकहरूले बाटो छेकेर भिडियो बनाइरहेको र आफूहरूले हर्न बजाउँदा समेत सडक जाम गरेका कारण कारबाही सिफारिस गरेको दाबी गरेका बताइएको छ ।