रचनात्मक गतिविधिसहित सिभिल बैंकको आठौं बार्षिकोत्सव
काठमाडौं, ११ मंसिर । सिभिल बैंक लिमिटेडले आफ्नो आठौं बार्षिकोत्सव कार्यक्रम विभिन्न रचनात्मक गतिविधि गर्दै मनाएको छ ।
बैंकले आफ्नो आठौं बार्षिकोत्सवका अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका गतिविधि गर्दै रचनात्मक बनाएको हो । बैंकले बार्षिकोत्सवका अवसरमा बृक्षारोपण, रक्तदान, सरकारी विद्यालयमा अध्ययनरत जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा पशुपति क्षेत्रको चक्रपथसँगै जोडिएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण गरेको छ । वृक्षारोपण कार्यक्रमको अगुवाई बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले गरेका थिए । वृक्षारोपण कार्यक्रममा पशुपति क्षेत्र बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको समेत सहभागिता थियो ।
वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, पशुपति क्षेत्र बिकास कोषका अन्य पदाधिकारीहरु, बैंकका कर्मचारीलगायत पत्रकार तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र साँस्कृतिक सम्पदाको संरक्षण एवम् सम्वर्धन प्राथमिकतामा रहेको उल्लेख गर्दै सोही नीति अनुरुप ३ सय वटा विरुवा रोपिएको बैंकले जनाएको छ ।
उक्त विरुवालाई ५ वर्षसम्म मल–जल र संरक्षण गरी हुर्काउनेसम्मको जिम्मेवारी बैंकले वहन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।
वृक्षारोपण कार्यक्रमपछि पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले सिभिल बैंकले बृक्षारोपण मात्र नगरी विरुवालाई पाँच वर्षसम्म हुर्काएर सक्षम भएपछि मात्र हस्तान्तरण गर्ने काम सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको बताएका छन् ।
बैंकले पशुपत क्षेत्र जस्तो देवभूमिमा बृक्षारोपण गर्नु सराहनीय काम भएको बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले बताएका छन् । बैंकले आफ्नो आठौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
वार्षिकोत्सव महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु छनौट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम निरन्तर रहेको पनि बंैकले जनाएको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरयस अनुसार) १८ करोड ५० लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धि हो) कमाउन सफल भएको बैंकले जनाएको छ । देशभर सिभिल बैंकको शाखा संख्या ७० पुगिसकेको छ ।