युरोपेली मदिरामा २०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् । युरोपेली संघले ह्विस्कीमा घोषणा गरेको ५० प्रतिशत भन्सार कर नहटाए २ सय प्रतिशत कर लगाउने बताएका हुन् ।
दोस्रो कार्यकाल सुरू गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न देशबाट अमेरिका भित्रने सामानमा कर वृद्धि गरेका छन् । यसअघि उनले अमेरिकामा प्रवेश गर्ने सबै स्टील र अल्मुनियममा २५ प्रतिशत भन्सार कर बढाएका थिए । त्यसको जवाफमा युरोपेली संघले १ अप्रिलदेखि लागू हुने गरी २८ अर्ब डलर बराबरका डुंगा, बर्बन ह्विस्की र मोटरसाइकल लगायतका अमेरिकी सामानमा कर बढाउने घोषणा गरिसकेको छ । त्यसको प्रतिक्रियामा ट्रम्पले युरोपेली मदिरामा २ सय प्रतिशत कर लगाउने चेतावनी दिएका हुन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनले ट्रम्प प्रशासनले चालेका कदमको ‘बलियो तर समानुपातिक’ जवाफ दिने बताएकी छन् । तर उनले युरोपेली संघ अमेरिकासँग ‘अर्थपूर्ण संवादमा संलग्न हुन तयार’ रहेको बताएकी छन् ।
‘आयात शुल्क व्यवसायका लागि खराब छन् र उपभोक्ताहरूका लागि पनि खराब छन्,’ उनले भनेकी छन् । आर्थिक अवरोधले रोजगारीलाई खतरामा पार्ने र मूल्यवृद्धि हुने उनको भनाइ छ ।
‘कसैलाई पनि यसको आवश्यकता छैन, युरोपेली संघका लागि होस् वा अमेरिकाका लागि,’ उनले भनिन् । ट्रम्पले विदेशी सामानमा आयात शुल्क बढाउँदा अमेरिकी उत्पादनलाई बढावा मिल्ने र रोजगारी सुरक्षित हुने बताउँदै आएका छन् । तर आलोचकहरूले भने ट्रम्पका कदमले अमेरिकी उपभोक्ताहरू मूल्यवृद्धिको मारमा पर्ने बताएका छन् । एजेन्सी