प्रधानमन्त्रीलाई भेटेर देउवाले दिए थप आन्दोलनको चेतावनी


२०७५ श्रावण ५ शनिबार १५:५८ बजे
काठमाडौं, ५ साउन :  नयाँ वानेश्वर घटनापछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका छन् । नयाँ वानेश्वर घटनापछि आक्रोशित बनेका सभापति देउवाले प्रधानमन्त्रीलाई भेटेर शान्तिपूर्ण प्रदर्शनमाथि दमन नगर्न सरकारलाई चेतावनी दिएका छन् । बानेश्वरस्थित सिभिल अस्पताल पुगेर उनले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहितका घाइते नेताहरुलाई भेटेपछि उनी प्रधानमन्त्रीलाई भेट्न वालुवाटार पुगेका थिए । उनले शान्तिपूर्ण जुलुसमा लाठीचार्ज गरेर घाइते बनाएको भन्दै आइन्दा यस्तो नगर्न चेतावनी दिए । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार तरुण दलले गरेको प्रदर्शनमा प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको थियो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए। यसैबीच, नेपाली काँग्रेसले नेपाल तरुण दलले नयाँ बानेश्वरमा निकालेको शान्तिपूर्ण जुलुसमाथि भएको प्रहरी हस्तक्षेपबारे दुःख व्यक्त गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले शनिबारै विज्ञप्ति जारी गरी नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक आक्रमण भएको भन्दै निन्दा गरेका छन् । काँग्रेसले आन्दोलनका क्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत चार दर्जनभन्दा बढी घाइते भएको भन्दै दुःख व्यक्त गरेको छ। यसैबीच, आन्दोलनका क्रममा घाइते भएका नेता तथा कार्यकर्तालाई सभापति शेरबहादुर देउवा एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्पताल नै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। काँग्रेसले आफ्नो सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान भएको जनाएको छ। अनशनको तेस्रो साता पूरा भइसक्दा पनि वार्तामार्फत समाधान खोज्ने र उनको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनु दुःखद कुरा भएको बताएको छ। चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा निरन्तर आन्दोलन गर्ने काँग्रेसले बताएको छ। आन्दोलनको ज्वारभाटा उठाउने चेतावनी यसैबिच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी अनशनरत डा. गोविन्द केसीका माग तत्काल सम्बोधन नगरे एकीकृत आन्दोलनको ज्वारभाटा उठाउने चेतावनी दिएका हुन् । ‘चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा हाम्रो आन्दोलन जारी छ । सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी दिन चाहन्छौँ’, विज्ञप्तीमा उल्लेख छ । ‘ अनशनको तेस्रो साता पूरा भैसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उहाँको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनुलाई अत्यन्तै गैर जिम्मेवार प्रवृत्ति ठहर गर्दै घोर भत्र्सना गर्दछौं’, विज्ञप्तीमा उल्लेख छ । आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएको कांग्रेसले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७