प्रेस स्वतन्त्रतामा सम्झौता गर्दैनौँ : रास्वपा महामन्त्री


२०८३ मङ्सिर १३ आइतबार १६:४४ बजे
फाइल फोटो

विराटनगर : नेपाल पत्रकार महासंघ मोरङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यलाई सञ्चार तथा पत्रकारितासम्बन्धी समस्या र माग समेटिएको ज्ञापनपत्र बुझाएको छ ।

विराटनगर आएका महामन्त्री आचार्यलाई महासंघ मोरङका पदाधिकारीले ज्ञापनपत्र बुझाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्र बुझ्दै आचार्यले रास्वपा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए । यस विषयमा पार्टीले कहिल्यै सम्झौता नगर्ने उनको भनाइ थियो । ‘हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ,’ उनले भने, ‘पत्रकार महासंघले उठाएका विषय र मागलाई गम्भीरतापूर्वक अध्ययन गरेर सम्बन्धित निकायमा पुर्‍याउनेछु ।’

पत्रकारिता समाजको अभिन्न अंग भएको उल्लेख गर्दै उनले यस क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन रास्वपा प्रतिबद्ध रहेको बताए ।

महासंघ मोरङले बुझाएको ज्ञापनपत्रमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न खोजेको भन्दै आपत्ति जनाइएको छ । सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध गर्ने घटनामा संलग्नलाई कारबाही नगरी सरकारले दण्डहीनतालाई प्रश्रय दिएको महासंघको आरोप छ ।

त्यस्तै, गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) लगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको र श्रम अधिकार उल्लंघन गर्दै पारिश्रमिकसमेत उपलब्ध नगराइएको विषय ज्ञापनपत्रमा उठाइएको छ ।

सरकारी विज्ञापन तथा सूचना वितरणमा सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको, लोककल्याणकारी विज्ञापनमा कटौती गरेर सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरिएको र सूचनामा पहुँच सीमित गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ ।

प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकार सुनिश्चितता तथा सञ्चारमाध्यमको आर्थिक र व्यावसायिक सुरक्षा लगायतका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले महासंघ आन्दोलनमा छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७