बीपी प्रतिष्ठानमा बिरामी बेच्ने गिरोहविरुद्ध एक-दुई दिनमै अपरेसन चल्छ: गृहमन्त्री गुरुङ
‘बराह सहकारीका पीडितले चाँडै न्याय पाउँछन्’
विराटनगर : गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामीलाई अन्य निजी अस्पतालमा लैजाने बिचौलिया गिरोह सक्रिय रहेको बताएका छन्।
यस्ता गिरोहविरुद्ध गृह मन्त्रालयले कडा कदम चाल्ने चेतावनी दिँदै उनले बिरामीलाई अन्य अस्पतालमा लैजाने बिचौलियालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए।
धरान पुगेका गृहमन्त्री गुरुङले एक–दुई दिनभित्रै विशेष अपरेसन सञ्चालन गरी दोषीमाथि मानव बेचबिखनसम्बन्धी कानुनअनुसार कारबाही गर्ने तयारी भइरहेको बताए। ‘एक–दुई दिनभित्रै विशेष अपरेसन चलाएर दोषीमाथि मानव बेचबिखनसम्बन्धी कानुनअनुसार कडा कारबाही गरिनेछ। यसका लागि तयारी भइरहेको छ,’ उनले भने।
गृहमन्त्री गुरुङले बीपी प्रतिष्ठानमा लामो समयदेखि माग हुँदै आएको एमआरआई मेसिन खरिदका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरिसकेको जानकारी दिए। प्रतिष्ठानमा निर्माणाधीन नयाँ मातृ तथा शिशु स्वास्थ्य (एमसीएच) भवन सम्पन्न भएपछि धरानसहित पूर्वी क्षेत्रका नागरिकको उपचारसम्बन्धी समस्या धेरै हदसम्म समाधान हुने उनको विश्वास छ।
उनले बीपी प्रतिष्ठानको सुधारका लागि आफूले सात महिनासम्म आन्दोलन गरेको स्मरण गर्दै गृहमन्त्री बनेपछि पनि पटक–पटक प्रतिष्ठान पुग्ने गरेको बताए। गुरुङले लागूऔषध नियन्त्रणका लागि राष्ट्रिय गुरुयोजना तयार भइरहेको जानकारी दिए। उक्त गुरुयोजना कार्यान्वयनमा आएपछि काँकडभिट्टा, धरान, मधेसका जिल्लासहित देशभर लागूऔषधविरुद्ध ठूलो स्तरको अपरेसन सञ्चालन गरिने उनले बताए।
यसैगरी, उनले बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितलाई न्याय दिलाउन र बचत रकम फिर्ता गराउन गृह मन्त्रालयले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको बताए।
सहकारीका सञ्चालक पक्राउ परिसकेको उल्लेख गर्दै उनले बचतकर्ताको रकम कहाँ–कहाँ प्रयोग भएको छ र त्यसबाट जग्गाजमिन खरिद गरिएको छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। ‘पहिलो चरणमा फरार व्यक्तिहरूलाई नियन्त्रणमा लिने काम भएको छ। अब चाँडै पीडितले न्याय पाउँछन्,’ उनले भने।
.gif)

.png)




