पहिलोपटक विवाहित र आमा बनेकी जेनिफरलाई मिस युनिभर्सको ताज


२०८३ मङ्सिर ९ बुधबार १६:३५ बजे
Photo: The Open Press

काठमाडौं : प्यूर्टो रिकोकी २७ वर्षीया जेनिफर बरेटोले मिस युनिभर्स २०२६ को उपाधि जितेकी छन् ।

अमेरिकाको प्यूर्टो रिकोस्थित राजधानी सान हुआनमा मंगलबार राति (नोभेम्बर २४) सम्पन्न प्रतियोगितामा ११५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ७५औँ संस्करणको ताज पहिरिएकी हुन् ।

बरेटोको जित मिस युनिभर्स प्रतियोगिताको इतिहासमा विशेष बनेको छ । उनी विवाहित र सन्तानकी आमा भएर पनि मिस युनिभर्सको उपाधि जित्ने पहिलो महिला बनेकी छन् ।

सात वर्षीया छोरी पेनेलोपकी आमा बरेटोको सफलताले सौन्दर्य प्रतियोगितामा वैवाहिक अवस्था र मातृत्वलाई बाधक नमान्ने नयाँ मान्यता स्थापित गरेको छ ।

प्रतियोगिता आफ्नै भूमिमा आयोजना हुँदा बरेटोले प्यूर्टो रिकोका लागि छैटौँ मिस युनिभर्स उपाधि जितेकी हुन् । यसअघि सन् २००६ मा जुलेका रिभेराले यो उपाधि जितेकी थिइन् । त्यसपछि २० वर्षसम्म प्यूर्टो रिकोले मिस युनिभर्सको ताज जित्न सकेको थिएन ।

प्रतियोगितामा डोमिनिकन गणराज्यकी मेलिसा नुनेज पहिलो उपविजेता बनेकी छन् । भेनेजुएलाकी क्लारा भेगास दोस्रो, फिलिपिन्सकी बेआ मिलान–विन्डोर्स्की तेस्रो र न्युजिल्यान्डकी जर्जिया वाडिङ्टन चौथो उपविजेता बनेका छन् । यस संस्करणमा ११६ देश तथा क्षेत्रका प्रतिस्पर्धी सहभागी थिए ।

बरेटो सौन्दर्य प्रतियोगिताकी विजेता मात्र होइनन्, शैक्षिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय छिन्। उनले मनोविज्ञानमा स्नातक र मनोविज्ञान तथा क्लिनिकल सामाजिक कार्यमा स्नातकोत्तर गरेकी छन् ।

उनी अमेरिकी रक्षा मन्त्रालयअन्तर्गत परिवार संरक्षण, हिंसा रोकथाम तथा संकट व्यवस्थापनसम्बन्धी क्षेत्रमा काम गर्दै आएकी छन् ।

उनकी सात वर्षीया छोरी पेनेलोप छन् । विवाहित महिला र आमालाई पनि प्रतियोगितामा सहभागी गराउने मिस युनिभर्सको नियम परिवर्तनपछि उनले प्रतिस्पर्धामा भाग लिने अवसर पाएकी हुन् ।

मिस युनिभर्स आयोजकले सन् २०२२ मा घोषणा गर्दै २०२३ देखि विवाहित, सम्बन्धविच्छेद गरेका तथा सन्तान भएका महिलालाई पनि प्रतियोगितामा सहभागी हुन दिने नियम लागू गरेको थियो। त्यसअघि अविवाहित र सन्तान नभएका महिलाले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था थियो ।

नियम परिवर्तनपछि धेरै विवाहित र आमा बनिसकेका महिलाले प्रतियोगितामा सहभागिता जनाएका थिए । तर उपाधि नै जित्ने पहिलो विवाहित तथा आमा बनेकी महिला बरेटो भएकी छन् ।

उनको जितलाई मिस युनिभर्स प्रतियोगिताको ७५ वर्षे इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले महिलाको वैवाहिक अवस्था र मातृत्वलाई उनीहरूको व्यक्तिगत क्षमता तथा अन्तर्राष्ट्रिय उपलब्धिको बाधक बनाउनु हुँदैन भन्ने मान्यतालाई थप स्थापित गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७