विभिन्न जिल्लाबाट लागूऔषधसहित २१ जना पक्राउ


२०८३ मङ्सिर ८ मंगलबार १४:३० बजे
फाइल फोटो

काठमाडौं : काठमाडौंसहित देशका विभिन्न जिल्लामा अवैध लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । सोमबार काठमाडौं, रूपन्देही, झापा, काभ्रे, कास्की, बाँके, कञ्चनपुर र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ धितालथोकमा डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका–२ का २२ वर्षीय धिरज तामाङको कोठाबाट ब्राउनसुगरजस्तो देखिने ९७ ग्राम ६ सय ७० मिलिग्राम पदार्थ बरामद भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका–८ गोकर्ण शिवपुरी चोकबाट ट्रामाडोलका ९० ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोकर्णेश्वर–४ का ३० वर्षीय कृष्णबहादुर भुजेलसमेत रहेका छन् ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ बाट खैरो हेरोइन १ सय ५५ ग्राम ७ सय ४० मिलिग्रामसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको गोरखपुरका ३५ वर्षीय मनिष सिंह, ३४ वर्षीय तनबिर मुसलमान र कपिलवस्तुको मायादेवी गाउँपालिका–६ का २९ वर्षीय सफिक मुसलमान छन् ।

झापाको दमक नगरपालिका–९ प्रधान टोलबाट खैरो हेरोइनजस्तो देखिने २ ग्राम ६ सय ५० मिलिग्राम पदार्थसहित २५ वर्षीय युनिक श्रेष्ठ र अर्का एक जना पक्राउ परेका छन् ।

अनुसन्धानका क्रममा उक्त पदार्थ दमक–५ गुँरास टोलकी ४९ वर्षीया गिता देवी रायबाट खरिद गरेको खुलेपछि उनको कोठा तलासी गरिएको थियो । त्यहाँबाट थप ७ ग्राम ८ सय ७० मिलिग्राम पदार्थ बरामद भएपछि रायलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेको बेथानचोक गाउँपालिका–४ प्रावलटोलबाट गाँजा करिब ३ किलो ९ सय ग्राम र पोलेन करिब १ सय २३ ग्रामसहित काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ का ३५ वर्षीय सागर केसीसमेत तीन जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–१४ बेलचौताराबाट खैरो हेरोइनजस्तो देखिने २ ग्राम १ सय ८० मिलिग्राम पदार्थसहित २९ वर्षीय रवी तिमिल्सिनासमेत चार जना पक्राउ परेका छन् ।

यसैगरी, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ बाट ब्राउनसुगरजस्तो देखिने २ ग्राम १ सय २० मिलिग्राम पदार्थसहित दाङको तुलसीपुर उपमहानगरपालिका–१६ का २४ वर्षीय अर्जुन वली पक्राउ परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट खैरो हेरोइनजस्तो देखिने २ ग्राम ८ सय ४० मिलिग्राम पदार्थसहित २९ वर्षीय गौरव भट्ट कपाडी पक्राउ परेका छन् । त्यस्तै, भीमदत्त–२ उल्टाखामबाट ५ सय ५० मिलिग्राम पदार्थसहित १९ वर्षीय लक्ष्मण कपाडी पनि पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–२ माछाभौडीबाट ट्रामाडोलका ७० ट्याब्लेटसहित धरान–१३ का ३० वर्षीय अभिषेक राई पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७