राष्ट्रपति कार्यालयमा तीन अध्यादेश विचाराधीन


२०८३ मङ्सिर ८ मंगलबार ११:४३ बजे

काठमाडौं : सरकारले सिफारिस गरेका तीनवटा अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा विचाराधीन छन् ।

जेनजी आन्दोलनका घटनासम्बन्धी छानबिन र क्षतिपूर्तिका लागि आयोग गठन गर्ने अध्यादेश थपिएसँगै विचाराधीन अध्यादेशको संख्या तीन पुगेको हो ।

गत आइतबार जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन, क्षतिपूर्ति तथा परिपूरणका लागि आयोग गठन गर्ने सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको थियो । यसअघि सरकारले गत कात्तिक १७ गते सिफारिस गरेका दुई अध्यादेश पनि राष्ट्रपति कार्यालयमै विचाराधीन छन् ।

यसअघि मन्त्रिपरिषद्ले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको थियो । दुवै अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाइएको हो ।

राष्ट्रपति कार्यालयले प्राप्त अध्यादेशहरू अध्ययनको क्रममा रहेको जनाएको छ तर, सरकारले अध्यादेशमा समेटिएका विषयवस्तु र ती ल्याउनुपर्ने कारणबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिएको छैन ।

संविधानको धारा ११४ अनुसार संघीय संसद्का दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन् । यसरी जारी भएको अध्यादेश ऐनसरह मान्य हुन्छ ।

अध्यादेश जारी भएपछि बसेको संघीय संसद्का दुवै सदनमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । दुवै सदनले स्वीकृत नगरेमा वा अध्यादेश प्रतिस्थापन गर्ने विधेयक ऐनमा रूपान्तरण नभएमा सदनमा पेस भएको ६० दिनपछि स्वतः निष्क्रिय हुन्छ ।

त्यस्तै, राष्ट्रपतिले चाहेमा जुनसुकै समयमा अध्यादेश खारेज गर्न सक्ने व्यवस्था पनि संविधानमा छ ।

सरकारले तत्काल के गर्न आवश्यक भएर अध्यादेश ल्याएको हो भन्ने विषय भने स्पष्ट पारेको छैन । राष्ट्रपति कार्यालयले पनि अध्यादेश प्राप्त भएको र अध्ययन भइरहेको जानकारी दिए पनि तिनमा समावेश प्रावधान सार्वजनिक गरेको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७