गंगासागरमा छठ मनाउन रवि लामिछाने पत्नी निकितासहित जनकपुर जाँदै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व जनकपुरधामस्थित ऐतिहासिक गंगासागरमा मनाउने भएका छन् । उनी पत्नी निकिता पौडेलसहित शनिबार जनकपुरधाम जान लागेका हुन् ।
रास्वपा मधेश प्रदेश कार्यालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् ।
त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ ।
दिउँसो २ देखि ४ बजेसम्म सोही सभाहलमा पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया हुनेछ ।
त्यसपछि साँझ ५ बजे छठ पर्वको खरना पूजा तथा अन्य तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यतालिका छ ।
आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म लामिछानेले जनकपुरधाम र आसपासका धार्मिक स्थलको दर्शन तथा अवलोकन गर्नेछन् ।
यस क्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मिथियानी लक्ष्मीनारायण मठ र जलेश्वरनाथ मन्दिर पुग्ने कार्यक्रम रहेको छ ।
आइतबार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा उनी सहभागी हुनेछन् । त्यस्तै, सोमबार बिहान ४ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने तथा छठ पर्वका अन्य विधि र अनुष्ठानमा सहभागी हुने कार्यक्रम छ ।
त्यसपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट उनी प्रस्थान गर्ने रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ ।
मधेश प्रदेशका महामन्त्री मानिकुमार साहद्वारा हस्ताक्षरित सूचनामा पार्टीका सबै तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकलाई आवश्यक समन्वय र सहकार्य गर्दै कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ ।
.gif)

.png)




