संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही ‘माईका लाल’ छैन : रवि लामिछाने
‘म होस् वा अरू, संविधानभन्दा माथि कोही छैन’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नरहेको बताएका छन्। सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ तथा धरपकड गरेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा लामिछानेले संविधान र लोकतन्त्रमाथि आँच पुर्याउने गतिविधिमा संलग्न जोकोही पनि कारबाहीको भागीदार हुनुपर्ने बताएका हुन्।
शनिबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सञ्चार क्षेत्रमा पछिल्लो समय भएका गतिविधिबारे पार्टीले स्पष्ट निर्णय गरिसकेको बताए। ‘संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो केही छैन, कोही छैन। रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने यसमा स्पष्ट छ। यसमा कहिल्यै कसैले दुविधा गर्नुपर्दैन,’ उनले भने।
संविधान र लोकतन्त्रको मर्मविपरीत गतिविधि गर्ने व्यक्तिले त्यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ। ‘यसमा आँच आउने कुनै पनि क्रियाकलाप जोकोहीले गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्नेछ। त्यसले जिम्मेवारी लिनुपर्नेछ। यो कुरा हामीले स्पष्ट रूपमा भनिसकेका छौँ। पार्टीले पनि निर्णय गरेको छ,’ लामिछानेले भने।
उनले संविधानप्रदत्त अधिकारको उल्लंघन गर्ने व्यक्ति आफू नै भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताए। ‘जसले यसरी संविधानलाई बेवास्ता गर्ने, संविधानप्रदत्त अधिकारलाई नै हवालात दिने किसिमको क्रियाकलाप गर्छ, जोसुकै होस्, चाहे म होस् वा अरू कोही पनि माथि छैन। म फेरि पनि भन्छु, संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही माईका लाल छैन,’ उनले भने।
रास्वपाले शनिबारको सचिवालय बैठकबाट कात्तिक १३ गते सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका भनिएका गतिविधिप्रति आपत्ति जनाएको थियो। बैठकले त्यस्ता गतिविधिमा संलग्न तथा गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान गरी छानबिन र कारबाही गर्न सरकारलाई निर्देशनसमेत दिएको थियो।
.gif)

.png)




