आज छठको दोस्रो दिन खरना : साँझ खीर प्रसाद ग्रहण
काठमाडौं : चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदै छ ।
सूर्यदेवको उपासना गर्दै मनाइने यस पर्वमा खरनाका दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ चामल, सक्खर र दूधबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गर्छन् ।
खरनाका दिन तयार पारिएको खीर व्रतालुले ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि प्रसादका रूपमा बाँड्ने चलन छ । पर्व नमनाउने परिवार तथा छिमेकीलाई समेत खीर वितरण गरिन्छ ।
सन्तानको सुख, पारिवारिक समृद्धि र कल्याणको कामना गर्दै मनाइने छठ पर्व शुक्रबार नहाय खाय विधिबाट सुरु भएको हो ।
पहिलो दिन व्रतालुहरूले स्नान गरी अरबा अरबाइन तथा चोखो भोजन ग्रहण गरेका थिए ।
छठको मुख्य पूजा आइतबार हुनेछ । त्यस दिन व्रतालुहरूले पूजा सामग्रीसहित जलाशय तथा नदी किनारका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।
यस दिनलाई ‘सौझकारक’ भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुनेछ । अन्तिम दिनको विधिलाई ‘पारन’ भनिन्छ ।
छठमा सूर्यदेव अर्थात् दिनानाथलाई बाँसको ढाकी, डग्री, माटोका कोसिया, कुरबार र हात्ती लगायतका सामग्री चढाउने परम्परा छ ।
प्रसादका रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, विभिन्न मिठाइ तथा फलफूल चढाइन्छ ।
अर्घ्य दिने व्रतालुहरू ४८ घण्टासम्म पानीसमेत नखाई उपवास बस्ने गर्छन् ।
छठका लागि तयार गरिने प्रसाद र पूजाका सामग्री शुद्धता तथा विधि–निष्ठामा विशेष ध्यान दिएर तयार गर्नुपर्ने भएकाले यस पर्वलाई निष्ठा र कठोर उपासनाको पर्वका रूपमा लिइन्छ ।
छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।
.gif)

.png)




