थाइल्यान्डमा तेल ट्याङ्कर डुब्दा चालक दलका ६ सदस्य बेपत्ता
बैंकक । थाइल्यान्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ जना सदस्य बेपत्ता भएका छन्।
रोयल थाई नौसेनाका अनुसार बुधबार बिहान करिब ९ बजे तटबाट २७ माइल टाढा ट्याङ्कर डुबेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै नौसेनाले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य सुरु गरेको जनाएको छ।
नौसेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा सम्भावित तेल चुहावटबाट समुद्री वातावरणमा पर्न सक्ने असर नियन्त्रण गर्न समुद्री विभागसँग समन्वय भइरहेको उल्लेख गरेको छ।
घटनास्थलनजिक रहेका अन्य जलयानलाई सुरक्षित रूपमा आवतजावत गर्न सचेत गराइएको पनि नौसेनाले जनाएको छ। बेपत्ता चालक दलका सदस्यहरूको खोजीका लागि आवश्यक सबै तयारी गरिएको तथा समुद्री वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावको निरन्तर निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ।
ट्याङ्कर डुब्नुको कारण र बेपत्ता चालक दलका सदस्यको अवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।
.gif)

.png)




