फिनल्यान्डका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता


२०८३ कार्तिक २५ बुधबार १९:३१ बजे

अन्ताल्या, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किएको अन्ताल्या पुगेका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार तथा त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे।

उनले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास र जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन तथा पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे फिनल्यान्डका मन्त्रीलाई जानकारी गराएका थिए।

भेटमा दुवै मन्त्रीबीच कोप–३१ को प्रक्रिया तथा पारस्परिक चासोका विभिन्न विषयमा विचार आदानप्रदान भएको थियो। साथै नेपाल र फिनल्यान्डबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

द्विपक्षीय भेटवार्तामा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७