लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौं : प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । कैलाली, बर्दिया, मकवानपुर, उदयपुर, नवलपरासी पश्चिम र सुनसरीबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट खैरो हेरोइनजस्तो देखिने १३० मिलिग्राम पदार्थसहित कालिकोटको खाँडाचक्र नगरपालिका–३ का २९ वर्षीय जगदिश पाण्डे पक्राउ परेका छन् ।
त्यस्तै, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर चोकबाट ब्राउनसुगरजस्तो देखिने ७८० मिलिग्राम पदार्थसहित गुलरिया नगरपालिका–१ का २० वर्षीय समोहित परियार पक्राउ परेका छन् ।
सोही नगरपालिका–११ को बाइपास रोडबाट २०० मिलिग्राम पदार्थसहित बाँकेको खजुरा गाउँपालिका–२ की २३ वर्षीया दिपिका वली पनि पक्राउ परेकी छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ लोकप्रिय मोडबाट खैरो हेरोइनजस्तो देखिने १५० मिलिग्राम पदार्थसहित बागमती गाउँपालिका–६ फापरबारीकी २५ वर्षीया रूपा विश्वकर्मा पक्राउ परेकी छन् ।
त्यस्तै, हेटौंडा–२ चौकीटोलबाट ७०० मिलिग्राम पदार्थसहित कैलाश गाउँपालिका–१० घर भई डेरा गरी बस्ने २२ वर्षीय बिनोद थिङसहित चार जना पक्राउ परेका छन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पैतालिस चोकबाट डाइक्लोमाइन ९० ट्याब्लेट र ट्रामाडोल ९० ट्याब्लेटसहित सोही ठाउँका ४२ वर्षीय लक्ष्मण राईसहित दुई जना पक्राउ परेका छन् ।
यसैगरी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिप्रैयाबाट ब्राउनसुगरजस्तो देखिने करिब ८९० मिलिग्राम पदार्थ र नाइट्राजेपाम १२ ट्याब्लेटसहित पाल्हीनन्दन गाउँपालिका–३ का ३५ वर्षीय गुलाम जिलानी अन्सारी पक्राउ परेका छन् । मोटरसाइकलमा सवार उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ प्रगति चोकबाट ब्राउनसुगरजस्तो देखिने १ ग्राम ७५० मिलिग्राम पदार्थसहित स्थानीय २० वर्षीय सुमन बस्नेत पनि पक्राउ परेका छन् ।
पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
.gif)

.png)




