मिलर एक्लैले बनाए ९३ रन, कर्णालीलाई जिताउन सकेनन्
काठमाडौं : दक्षिण अफ्रिकी आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु खेलमै सानदार ब्याटिङ गरे पनि कर्णाली याक्सले सुदूरपश्चिम रोयल्ससँग ३९ रनको हार बेहोरेको छ ।
सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट अविजित ९३ रन बनाए पनि अर्को छेउबाट पर्याप्त साथ पाएनन् ।
मिलरले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गरे । विकेटकिपर दीपक डुम्रेले १२ बलमा ३ चौका र एक छक्कासहित १८ रन बनाए । कर्णालीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्द्र रत्नायके र अविनाश बोहराले १–१ विकेट हात पारे ।
यस जितसँगै पाँच खेलमा तेस्रो जित निकालेको सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको कर्णालीको भने यो लगातार दोस्रो हार हो । ४ अङ्कसहित कर्णाली पाँचौँ स्थानमा झरेको छ ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
सुदूरपश्चिमका ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । २४ बलको सामना गरेका उनले ४ चौका र एक छक्का प्रहार गरे । विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन जोडे ।
जैब र भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । तर, आठौँ ओभरमा भण्डारी र नवौँ ओभरमा जैब आउट भएपछि सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमायो ।
ब्रान्डन म्याकमुलेनले १६ बलमा २ चौका र एक छक्कासहित २४ रन बनाउँदा इशान पाण्डेले १३ बलमा ३ छक्काको मद्दतमा २३ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए ।
तल्लो क्रमका ब्याटर थरिन्द्र रत्नायकेले १२ बलमा ३ चौका र एक छक्कासहित अविजित २२ रन बनाए । स्कट कुगेलेइनले ६ बलमा २ चौका प्रहार गर्दै अविजित १३ रन जोडे । सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ५७ रन बनाएको थियो ।
कर्णालीका लागि मार्क वाटले २ विकेट लिए । नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले १–१ विकेट हात पारे ।
.gif)

.png)




