सरकारमाथि प्रचण्डको व्यंग्य : हिन्दी जासुसी फिल्मजस्तो कामकारबाही


२०८३ कार्तिक २१ शनिबार १४:५२ बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सरकारका गतिविधि अनपेक्षित र अनिश्चित रहेको टिप्पणी गर्दै उनले पत्रकार पक्राउदेखि आक्रमणसम्मका घटनाले राज्यमा अराजकता बढेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान राजनीतिक अवस्थालाई हिन्दी जासुसी फिल्मसँग तुलना गरे। कुन बेला के घटना हुन्छ भन्ने अनुमान गर्न नसकिने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

‘हिन्दी जासुसी फिल्ममा अनौठा र असम्भवजस्ता लाग्ने घटना देखाइन्छन् नि, अहिले सरकारको काम गर्ने शैली पनि त्यस्तै छ। कुन बेला कुन पत्रकार पक्राउ पर्ने हो, कसैमाथि कहाँ आक्रमण हुने हो र के घटना घट्ने हो भन्ने कुनै निश्चितता छैन,’ उनले भने।

प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अभियान चलाउँदा नै सत्ता गुमाउनुपरेको दाबी गरे। गणतन्त्र, सङ्घीयता र समावेशिताजस्ता राजनीतिक उपलब्धि हासिल गर्ने शक्तिलाई नै काम गर्ने अनुकूल वातावरण नदिइएको उनको गुनासो थियो।

उनले पछिल्लो समय ३५ वर्षको राजनीतिक उपलब्धिलाई अस्वीकार गर्ने र यस अवधिमा केही पनि नभएको भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसलाई विवेकहीन, अराजक र निरङ्कुश प्रवृत्तिको संज्ञा दिए।

प्रचण्डले गणतन्त्र र सङ्घीयता स्थापना गर्नुका साथै पूर्वाधार तथा ऊर्जा क्षेत्रमा परिवर्तन ल्याउन भूमिका खेलेका राजनीतिक शक्तिलाई नै बदमास र अपराधीका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए।

आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अघि बढाइएको अभियानबाट बिचौलिया समूह असन्तुष्ट बनेको र त्यही कारण आफूलाई सत्ताबाट हटाइएको उनको दाबी थियो। आफूहरूलाई सरकारबाट हटाइएपछि देश राजनीतिक दुर्घटनातर्फ जाने चेतावनी दिएको स्मरण गर्दै उनले अहिले त्यस्तै अवस्था आएको बताए।

‘हामीलाई अपदस्थ गरिएपछि देश दुर्घटनामा जान्छ भनेका थियौँ। यो संविधानको मर्मविपरीत र लोकतन्त्रको भावनाविपरीत हुन्छ भनेर खबरदारी गरेका थियौँ। त्यति भन्दै गर्दा पनि देश दुर्घटनातर्फ गयो,’ उनले भने।

प्रचण्डले अहिलेको सरकारलाई आफूहरूले विगतमा अनुभव नगरेको अनौठो प्रकृतिको सरकारका रूपमा व्याख्या गर्दै यसको कार्यशैलीप्रति थप चिन्ता व्यक्त गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७