कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य

अरिफुलको आक्रामक ब्याटिङ


२०८३ कार्तिक १६ सोमबार १४:३८ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले काठमाण्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो ।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। हुसेन तलतले ३० बलमा १ चौका र २ छक्काको मद्दतमा ४० रन जोडे ।

त्यस्तै, पवन सर्राफले २३ बलमा २ छक्कासहित अविजित ३० रन बनाए। गुल्सन झाले १२ बलमा २ छक्का प्रहार गर्दै २० रनको योगदान दिए ।

कर्णालीका लागि अरिफुलसँगै बंगलादेशका जिशान आलमले ओपनिङ गरेका थिए। आइतबार मात्रै नेपाल आइपुगेका जिशानले आजै पहिलो खेल खेलेका हुन् । उनी टोलीको स्कोर २० रन हुँदा व्यक्तिगत ७ रनमा आउट भए ।

दोस्रो विकेटका लागि अरिफुल र मार्क वाटले ४६ रनको साझेदारी गरे । त्यसपछि १२ रनको अन्तरमा अरिफुल, दीपक डुम्रे र मार्क वाट आउट हुँदा कर्णाली ७८ रनमा ४ विकेट गुमाएको अवस्थामा पुगेको थियो ।

तर पवन सर्राफ र हुसेन तलतले पाँचौं विकेटका लागि ६५ रनको महत्त्वपूर्ण साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाले । १७औँ ओभरको अन्तिम बलमा हिट विकेट हुनुअघि तलतले ४० रन बनाएका थिए ।

त्यसपछि पवन र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गर्दै टोलीलाई १८० रनसम्म पुर्‍याए ।

बलिङमा काठमान्डुका कप्तान करण केसीले २ विकेट लिए । शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले समान १–१ विकेट हात पारे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७