सरकारका गतिविधिबारे साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सुरु


२०८३ कार्तिक १६ सोमबार १४:२० बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि प्रहार भएको भन्दै उठेका प्रश्नलगायत विषयमा साझा धारणा बनाउन कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको हो ।

बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा सहभागी भएकी छन् । बैठकमा संसद् बाहिर रहेका दलका नेताहरूको समेत उपस्थिति छ ।

बैठकअघि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको जवाफदेहिता, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ, सञ्चारमाध्यममा प्रहरी परिचालन, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा निष्पक्ष अनुसन्धानका विषयमा छलफल हुने बताएका थिए ।

यसअघि सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड र न्यायालयसँग जोडिएका विवादको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता आङ्देम्बेले पत्रकार धरपकडलगायत विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताएका थिए ।

उनले भनेका थिए, ‘नेपाली कांग्रेस पत्रकार धरपकडलगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ। यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ ।’

पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेस संसदीय दलको ठहर छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७