३९ लाख भ्रष्टाचार आरोपमा मुगुका तत्कालीन कार्यालय प्रमुखसहित तीनविरुद्ध मुद्दा
काठमाडौं : मुगुमा खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल तथा परामर्शदाता कम्पनी एलाइड इन्जिनियरिङ प्रालि र त्यसका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढाविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मुगुका विभिन्न खानेपानी योजनाको डीपीआर निर्माणका लागि परामर्श सेवा खरिद गर्दा प्रचलित खरिद कानुनविपरीत दुईवटा प्याकेज बनाइएको थियो। पहिलो प्याकेजमा नौवटा र दोस्रो प्याकेजमा चारवटा गरी १३ वटा खानेपानी योजनाको डीपीआर निर्माण गरिएको थियो।
अनुसन्धानका क्रममा डीपीआर निर्माण प्रक्रियामा नक्कली मूल्याङ्कन समिति गठन गरेको, समितिका निर्णय र हस्ताक्षरसमेत किर्ते गरी मूल्याङ्कन प्रतिवेदन तयार पारेको तथा सोही आधारमा झुट्टा बिल र भरपाई बनाएर भुक्तानी लिएको पाइएको आयोगको दाबी छ।
यसरी सरकारी सम्पत्तिको हिनामिना गरी आर्थिक लाभ लिएको र प्रदेश सरकार तथा नेपाल सरकारलाई प्रत्यक्ष हानि पुर्याएको आरोपमा ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ।
आयोगले तत्कालीन कार्यालय प्रमुख रिमाल र लेखापाल सेजुवालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ लगायतका व्यवस्थाअनुसार बिगो बराबर जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गरेको छ।
त्यस्तै, एलाइड इन्जिनियरिङ प्रालि र त्यसका प्रबन्ध निर्देशक बुढाविरुद्ध मुख्य कसुरदारलाई सहयोग गरी गैरकानुनी लाभ प्राप्त गरेको आरोपमा मुद्दा दायर गरिएको छ।
कम्पनीका हकमा भ्रष्टाचार निवारण ऐनको दफा २३क बमोजिमसमेत सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।
.gif)

.png)



