आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रङ्गशाला बनाइने


२०८३ कार्तिक १० सोमबार १५:३७ बजे
फाइल फोटो

काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढाइएको बताएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिँदै मन्त्री लम्सालले कम्तीमा आठ हजार दर्शक क्षमताका रङ्गशाला निर्माण गर्ने योजना अघि बढाइएको जानकारी दिएका हुन्।

उनले प्रस्तावित रङ्गशालाहरूमा फ्लडलाइटको सुविधा हुने बताएका छन्। यसले रातिको समयमा समेत क्रिकेट खेल सञ्चालन गर्न सहज बनाउनेछ। साथै, ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्न सकिने गरी पूर्वाधार विकास गर्ने सरकारको योजना छ।

मन्त्री लम्सालले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित योजना अघि बढाइएको बताए। उक्त योजना कार्यान्वयनमा आए एनपीएललाई काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न सहरमा विस्तार गर्न सकिने उनको विश्वास छ।

आठ सहरमा क्रिकेट रङ्गशाला निर्माण हुँदा खेलाडीले आफ्नो क्षेत्रमै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् भने स्थानीय दर्शकले पनि प्रत्यक्ष रूपमा खेल हेर्न पाउनेछन्। यसले क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमा खेल पर्यटन र आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्री लम्सालले प्रस्तावित पूर्वाधार विकास योजनालाई नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने पहलका रूपमा व्याख्या गरेका छन्। उनले क्रिकेट सङ्घ (क्यान) ले पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउने विश्वास व्यक्त गरे।

यद्यपि, आठवटै सहरको नाम, निर्माणको विस्तृत कार्यतालिका, लागत र बजेट व्यवस्थापनबारे भने उनले सार्वजनिक गरेको विवरणमा खुलाइएको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७