गीतको पारिश्रमिक विवादमा आनन्द कार्की-दुर्गेश आमनेसामने
काठमाडौं : गायक दुर्गेश थापा र वरिष्ठ गायक आनन्द कार्कीबीच गीत गाएबापतको पारिश्रमिकलाई लिएर विवाद देखिएको छ।
थापाको गीत ‘दुश्मन हेरेको हेर्यैमा’ गाएबापत पारिश्रमिक नपाएको कार्कीले एक टेलिभिजन कार्यक्रममा बताएपछि दुई गायकबीचको विषय चर्चामा आएको हो।
तर, थापाले भने कार्कीलाई उक्त गीतको पारिश्रमिक भुक्तानी गरिसकेको दाबी गरेका छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सहमतिअनुसारको रकम भुक्तानी गरिसकेको जनाएका हुन्। आफ्नो दाबी पुष्टि गर्न उनले पारिश्रमिक भुक्तानीसम्बन्धी सम्झौतासमेत सार्वजनिक गरेका छन्।
‘उक्त गीतमा सहकार्य गर्नुभएका आदरणीय आनन्द कार्कीज्यूसँग सहमति भएको पारिश्रमिकसमेत भुक्तानी गरिसकिएको छ,’ थापाले विज्ञप्तिमा भनेका छन्, ‘यस तथ्यलाई सम्बन्धित विषयको यथार्थ बुझ्न आवश्यक आधारका रूपमा लिनुहुन अनुरोध गर्दछु।’
कार्कीले टेलिभिजन कार्यक्रममा उल्लेख गरेको अर्को गीतका विषयमा पनि थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उक्त गीत आफ्नो सिर्जना भए पनि चलचित्र परियोजनाका लागि तयार पारिएको उनको भनाइ छ। त्यसको निर्माण, व्यवस्थापन तथा भुक्तानीको सम्पूर्ण जिम्मेवारी भने सम्बन्धित चलचित्र निर्माण पक्षकै रहेको थापाले स्पष्ट पारेका छन्।
सिर्जनात्मक संलग्नता र परियोजनाको प्रशासनिक जिम्मेवारी फरक विषय भएको उल्लेख गर्दै उनले यी दुई पक्षलाई छुट्याएर बुझिदिन आग्रह गरेका छन्।
नेपाली संगीत क्षेत्रका अग्रजप्रति आफ्नो सधैँ उच्च सम्मान रहेको बताउँदै थापाले विज्ञप्ति विवाद सिर्जना गर्न नभई घटनाको वास्तविकता स्पष्ट पार्न जारी गरेको जनाएका छन्।
कार्कीले पारिश्रमिक नपाएको बताएपछि सार्वजनिक भएको यो विषयमा थापाले भने भुक्तानी भइसकेको दाबी गरेका छन्।
दुवै पक्षका भनाइबीच देखिएको भिन्नताले गीतको पारिश्रमिकसम्बन्धी विवादलाई चर्चामा ल्याएको छ।

.gif)

.png)



