ओलीले उठाए ‘पपेट सरकार’को मुद्दा, लोकतन्त्रविरुद्धका गतिविधिमा अनुसन्धान गर्न माग
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने तथा आफ्नो प्रभावमा रहने सरकार स्थापना गर्ने प्रवृत्तिमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।
बिहीबार पार्टी कार्यालय च्यासलमा पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै अध्यक्ष ओलीले लोकतन्त्रलाई अलोकतान्त्रिक ढंगले विस्थापित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।
उनले अलोकतान्त्रिक, असामाजिक र आपराधिक माध्यमबाट सत्ता परिवर्तन गराउने तथा ‘पपेट गभर्नमेन्ट’ अर्थात् आफ्नो नियन्त्रणमा रहने सरकार स्थापना गर्ने प्रवृत्तिविरुद्ध अनुसन्धान आवश्यक रहेको धारणा राखे।
ओलीले सरकारमा रहनेहरू जनताप्रति जिम्मेवार हुनुपर्नेमा पनि जोड दिए। एमाले नेतृत्वको सरकारले अशक्तता भएका व्यक्ति, शारीरिक अपाङ्गता भएका नागरिक, असहाय, बेसहारा तथा ज्येष्ठ नागरिकको व्यवस्थापनमा विशेष ध्यान दिएको उनको भनाइ थियो।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न सबैभन्दा पहिले जनताको दुःख निवारण गर्नुपर्ने ओलीले बताए। त्यसका लागि नागरिकका आधारभूत समस्या समाधान गर्ने र जीवनयापन सहज बनाउनेतर्फ राज्यले ध्यान दिनुपर्ने उनले धारणा राखे।
अध्यक्ष ओलीले जनताको दुःख कम गर्न आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनुपर्ने बताए।
.gif)

.png)



