गगनको चारवर्षे कार्ययोजना : मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान


२०८३ कार्तिक १२ बिहीबार १८:२४ बजे
तस्बिर: नेपाल फाेटाे सर्भस (NPS)

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी चार वर्षका लागि निश्चित कार्यतालिका बनाएर पार्टी सञ्चालन गर्ने बताएका छन्।

महाधिवेशनबाट पारित नीति तथा सङ्गठन सुधारका योजनालाई एकीकृत कार्ययोजनामा समेटेर अघि बढ्ने उनको भनाइ छ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि सम्बोधन गर्दै थापाले पार्टीका नीति, कार्यक्रम र सङ्गठन सुधारका योजनालाई समेटेर कार्ययोजना तयार गर्ने बताए। पार्टी कार्यालयले तयार पार्ने उक्त कार्ययोजना आगामी केन्द्रीय बैठकमा पेस गरिने उनले जानकारी दिए।

महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई केन्द्रीय तहमा मात्रै सीमित नराखी वडा तहका सदस्य, समर्थक र आम नागरिकसम्म पुर्‍याउनुपर्नेमा उनले जोड दिए। पार्टीले लिएका नीति र योजनाबारे तल्लो तहसम्म जानकारी गराउनुपर्ने उनको भनाइ थियो।

थापाले मंसिर महिनाभरि ‘कांग्रेस तयार छ’ भन्ने सन्देशसहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा पनि गरे।

महाधिवेशनबाट पारित विषयलाई दस्तावेजीकरण गर्दै मुलुकका वर्तमान समस्या समाधान गर्न र नागरिकका आकाङ्क्षा सम्बोधन गर्न कांग्रेस तयार रहेको सन्देश अभियानमार्फत जनतासमक्ष पुर्‍याइने उनले बताए।

‘अब समीक्षा र आत्मालोचनाको चरण सकियो, अब अगाडि बढ्ने हो,’ थापाले भने, ‘कांग्रेसले अब जिम्मेवारी वहन गर्दै अघि बढ्नुपर्नेछ। प्रतिपक्ष, स्थानीय सरकार र राष्ट्रिय शक्तिका रूपमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका पूरा गर्न तयार छ।’

मंसिरमा सञ्चालन हुने अभियानको विस्तृत कार्ययोजना पार्टी कार्यालयले तयार गर्ने उनले बताए। केन्द्रीय कार्यसमितिको बैठकबाट अभियानको सैद्धान्तिक पक्ष पारित गरी त्यसपछि आवश्यक तयारी अघि बढाइने उनको भनाइ छ।

सभापति थापाले पार्टीलाई निश्चित कार्यतालिकाअनुसार सञ्चालन गर्दै नीति कार्यान्वयन र सङ्गठन सुधारलाई व्यवस्थित बनाउने योजना अघि सारेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७