विपदमा खटिने सुरक्षाकर्मीलाई आईपीओमा २ प्रतिशत कोटा दिने तयारी
कानुनी प्रक्रिया अघि बढाउँदै सरकार
काठमाडौं : विपद्का समयमा खोज, उद्धार तथा पुनःस्थापनामा खटिने सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधि सभामा यस्तो व्यवस्था गर्न प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्। उनका अनुसार सुरक्षाकर्मीलाई वैदेशिक रोजगारीमा रहेका नेपाली तथा आयोजना प्रभावित स्थानीयवासीलाई जस्तै आईपीओमा आरक्षण दिने तयारी गरिएको हो।
यसका लागि ऊर्जा मन्त्रालयले विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डसँग प्रारम्भिक छलफल अघि बढाएको छ। व्यवस्था मन्त्रिपरिषद्को निर्णयबाट गर्ने वा धितोपत्र बोर्डले नियमावलीमार्फत कार्यान्वयनमा लैजाने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ।
विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालका अनुसार सुरक्षाकर्मीका लागि २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने सम्बन्धमा आयोगले कार्यविधि तयार पार्न थालेको छ।
आयोगले कार्यविधि बनाएर सिफारिस गरेपछि धितोपत्र बोर्डले नियम वा विनियममार्फत कार्यान्वयनमा लैजाने तयारी छ। धितालका अनुसार कार्यविधि तयार गर्न करिब १५ दिन लाग्ने अनुमान गरिएको छ।
मन्त्री श्रेष्ठले राष्ट्रसेवामा खटिने सुरक्षाकर्मीले विपद्का समयमा देखाएको समर्पणको सम्मानस्वरूप उनीहरूलाई जलविद्युत् आयोजनाको स्वामित्वमा सहभागी गराउने नीतिगत निर्णय लिइएको बताए।
उनले भविष्यमा निर्माण हुने जलविद्युत् आयोजना विपद् प्रतिरोधी बनाउन सुरक्षा मापदण्डलाई उच्च प्राथमिकता दिन मातहतका निकायलाई निर्देशन दिइएको जानकारी दिए।
मन्त्री श्रेष्ठले त्रिशूली नदीमा आएको बाढीमा ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्काल पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको पनि संसदलाई जानकारी दिए।
त्यस्तै, ती परिवारलाई ६ महिनासम्म कर्मचारीले पाउँदै आएको तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरिएको उनले बताए।
मन्त्री श्रेष्ठले यस्तो आर्थिक सहयोगलाई क्षतिपूर्तिका रूपमा नभई पीडाको समयमा राज्यले प्रभावित परिवारप्रति देखाएको साथ र जिम्मेवारीको प्रारम्भिक प्रयासका रूपमा बुझ्नुपर्ने बताए।
प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेजअनुसार प्रभावित परिवारलाई आगामी दिनमा थप सहयोग उपलब्ध गराइने उनले जानकारी दिए।
.gif)

.png)


