कार्यदलमा कुरा नमिलेपछि ओली भेट्न गुण्डु जाने बादलको प्रस्ताव, शंकर-विष्णुले मानेनन्

एक्लै ओली भेट्न गुण्डु पुगे बादल


२०८३ असोज १ बिहीबार ००:२० बजे

काठमाडाैं :  नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदनलाई एउटै बनाउने विषयमा सहमति जुट्न सकेन। सहमति नभएपछि कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्न गुण्डु जाने प्रस्ताव गरेका थिए । तर, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले उक्त प्रस्ताव मानेनन्।

कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव शंकर पोखरेल आ–आफ्नै अडानमा रहेपछि प्रतिवेदनलाई एकरूपता दिने प्रयास असफल भएको हो। स्रोतका अनुसार छलफलका क्रममा बादलले महासचिव पोखरेलले तयार पारेको प्रतिवेदन फिर्ता लिनुपर्ने प्रस्ताव गरेका थिए। तर, पोखरेलले आफूले पार्टी सचिवालय र कार्यदलले दिएको जिम्मेवारी तथा कार्यादेशअनुसार प्रतिवेदन तयार पारेकाले फिर्ता नलिने अडान राखेका थिए।

‘नेता तथा कार्यकर्ताका सुझाव समेटेर प्रतिवेदन लेख्ने जिम्मा कार्यदलले मलाई दिएको हो। त्यसैअनुसार प्रतिवेदन तयार पारेको छु,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। बरु, कार्यदलको प्रतिवेदनमा उपाध्यक्ष थापाले राखेको छुट्टै खण्डन फिर्ता लिए सहमति जुट्न सक्ने पोखरेलको प्रस्ताव थियो। ‘कार्यदलको प्रतिवेदनमा उपाध्यक्ष कमरेडको खण्डन छ। यसलाई फिर्ता गर्दा राम्रो हुन्छ,’ पोखरेलले भनेका थिए।

छलफलबाट पनि निकास ननिस्किएपछि थापाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्न गुण्डु जाने प्रस्ताव राखेका थिए। तर, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेलले गुण्डु जाने प्रस्ताव अस्वीकार गरेपछि थापा एक्लै ओलीलाई भेट्न गुण्डु पुगेका हुन्।

‘विष्णु पौडेल र शंकर पोखरेलले गुण्डु जाने प्रस्ताव अस्वीकार गरेपछि बादल एक्लै जानुभयो,’ एमालेका एक नेताले भने। महासचिव पोखरेलको प्रतिवेदनमा उपाध्यक्ष थापाले छुट्टै प्रतिवेदन तथा खण्डन राखेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि सहमति खोज्न शनिबारदेखि तीन दिनसम्म काभ्रेको बल्थलीमा कार्यदलको आवासीय बैठक बसेको थियो। तर, बल्थली बैठकबाट पनि निष्कर्ष ननिस्किएपछि तीन सदस्यीय सम्पादन समिति गठन गरिएको थियो।

सम्पादन समितिमा समेत विवाद समाधान नभएपछि अब प्रतिवेदनलाई अन्तिम रूप दिने विषयमा अध्यक्ष ओलीसँगको परामर्श निर्णायक बन्ने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७