बाढीपीडितको उद्धारमा राज्यका सबै स्रोत परिचालन गर्ने विपद् प्राधिकरणको निर्णय


२०८३ भदौ १० बुधबार १२:३७ बजे
भोटेकोशी बाढीको विषयमा छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक । तस्विरः प्रधानमन्त्री शाको सचिवालय

काठमाडौं : भोटेकोशीमा आएको भीषण बाढीपछि जोखिममा परेका नागरिकको उद्धारलाई तीव्रता दिन सरकारले उपलब्ध सबै स्रोत–साधन परिचालन गर्ने भएको छ। विपद् प्राधिकरणको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्‍याउने कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राज्यका उपलब्ध सबै साधन–स्रोत परिचालन गरी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने जानकारी दिए। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि हालसम्म आठवटा हेलिकप्टर परिचालन भइसकेका छन्। थप उद्धार आवश्यक परे उपलब्ध साधन–स्रोतसमेत परिचालन गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

बाढीका कारण घाइते तथा बिरामी भएकाहरूको उपचारलाई पनि प्राथमिकतामा राखिएको छ। त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरण तथा जनशक्तिसहित व्यवस्थित बनाएर बाढी प्रभावितको उपचारमा प्रयोग गर्ने विषयमा बैठकमा छलफल भएको आङदेम्बेले बताए। उद्धार कार्यलाई सहज बनाउन धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णयसमेत भएको छ। दुर्गम तथा सडक सम्पर्क प्रभावित भएका क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार तथा राहत सामग्री पुर्‍याउने तयारी गरिएको छ।

आङदेम्बेले विपद्को समयमा स्रोत–साधन परिचालनमा कुनै हिचकिचाहट गर्न नहुने बताए। उनले प्रभावित नागरिकको ज्यान जोगाउन सरकारले उपलब्ध सबै संयन्त्र तत्काल परिचालन गर्नुपर्नेमा जोड दिए। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण अझै संकलन भइरहेकाले पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ। तर जोखिममा रहेका नागरिकको उद्धारलाई तत्काल अघि बढाउनुपर्ने अवस्था रहेकाले उद्धार टोली तथा सुरक्षा निकायहरूलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७