नबिल बैंकको नाफा सात अर्ब १२ करोड बढी

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आवको चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी सामान्य बढेर १६ अर्ब ३२ करोड ७२ लाख, खुद शुल्क तथा कमिसन आम्दानी ५.३८ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ६१ लाख, कुल सञ्चालन आम्दानी ३.४० प्रतिशतले बढेर २१ अर्ब ५१ लाख र सञ्चालन नाफा २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ३.४४ रुपैयाँ रहेको यस्तो आम्दानी गत आवमा बढेर २६.३४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ । अघिल्लो आवमा ४.४५ प्रतिशत रहेको खराब कर्जा गत आवमा ४.२७ प्रतिशतमा झरेको छ । त्यस्तै, गत आवमा बैंकको वितरणयोग्य नाफा ५४.८६ प्रतिशतले बढेर अर्ब ७७ करोड रुपैयाँ रहेको छ । बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको छ । अघिल्लो आवमा लाभांश क्षमता ११.३९ प्रतिशत थियो । २७ अर्ब ५ करोड ६९ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा करिब ३१ अर्ब ९१ करोड रुपैयाँ सञ्चित छ ।