कोरोनाविरुद्ध लड्न आइएनजिओ र एनजिओले एक अर्बको सहयोग गर्नेे


२०७७ बैशाख ११ बिहीबार ०६:२४ बजे

काठमाडौं ११ बैसाख । कोरोना महाव्याधीमा आपत्कालीन सहयोगका लागि गैरसरकारी संस्था (एनजिओ–आइएनजिओ) ले करिब एक अर्बको सहयोग परिचालन गर्ने प्रस्ताव गरेका छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र गैरसरकारी संस्था (एनजिओ) ले कार्यक्रम सञ्चालन अनुमतिका लागि समाजकल्याण परिषद्मा प्रस्ताव पेस गरेका हुन् ।

परिषद्का सूचना अधिकारी दुर्गा भट्टराईका अनुसार २२ वटा आइएनजिओले मात्र ७५ करोड रुपैयाँको सहयोग प्रस्ताव गरेका छन् ।

त्यस्तै, नेपालमा काम गर्ने आइएनजिओहरूको संयुक्त संस्था एसोसिएसन अफ आइएनजिओ इन नेपाल (एआइएन) अन्तर्गत स्वास्थ्य क्षेत्रमा काम गर्ने आइएनजिओहरूले आठ करोडसम्म सहयोगको प्रस्ताव गरेका छन् ।

त्यस्तै, व्यापारिक घराना चौधरी समूहको एनजिओ ‘चौधरी फाउन्डेसन’ले पनि नौ करोडसम्मको सहयोग प्रस्ताव गरेको छ । अन्य करिब दुई दर्जन एनजिओले कोरोना महामारीविरुद्ध सहयोगार्थ सानो आकारमा बजेट प्रस्ताव गरेका छन् ।

‘प्रस्ताव भएअनुसार रकम परिचालनका लागि स्वीकृति दिने सम्बन्धमा गृहकार्य भइरहेको छ,’ परिषद्का सूचना अधिकारी भट्टराईले भने । गैरसरकारी संस्थाले आफूखुसी सीधै सहयोग परिचालन गर्न भने पाउने छैनन् ।

स्वास्थ्य मन्त्रालय तथा मन्त्रालयअन्तर्गतको विभाग वा स्थानीय तहसँग समन्वय गरेर मात्रै सहयोग परिचालन गर्न सरकारले निर्देशन दिइसकेको छ ।

विगतमा सीधै रकम परिचालन गर्ने छुट दिँदा पाउनुपर्ने व्यक्ति तथा समुदाय नै सहयोगबाट वञ्चित भएपछि त्यसलाई निरुत्साहित गर्न सरकारले यस्तो निर्देशन दिएको हो । सरकारको निर्देशनअनुसार स्वास्थ्य सामग्री सहायता भए स्वास्थ्य मन्त्रालय र राहत वितरण भए स्थानीय तहको निर्देशन र समन्वयमा वितरण गर्नुपर्ने भट्टराईले बताए ।

त्यस्तै, गैरसरकारी संस्थाहरूले नगद सहयोग वितरण गर्न पाउने छैनन् । परिषद्का अनुसार जिन्सी (भौतिक सामग्री) मात्र सहयोग गर्न पाउँछन्, नगदमा प्रतिबन्ध लगाइएको छ ।

कोरोनाविरुद्ध लड्न सरकारी स्रोत अभाव हुने आकलन गर्दै सरकारले गैरसरकारी संस्थालाई सहयोग प्रक्रियामा प्रवेश गर्ने नीति भने केही खुकुलो बनाएको छ । ‘महाव्याधीविरुद्ध लड्न सहयोग परिचालन गर्न खोज्ने आइएनजिओ र एनजिओलाई प्रक्रिया बाधक बन्दैन,’ परिषद्का सूचना अधिकारी भट्टराईले भने ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपालमा क्रियाशील आइएनजिओ–एनजिओलाई कुल स्वीकृत बजेटको कम्तीमा २० प्रतिशत रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्चिन परिषद्मार्फत चैत तेस्रो साता नै निर्देशन दिएको थियो ।

चालू आर्थिक वर्ष ०७६–७७ मा मात्रै आइएनजिओ र एनजिओले परिषद्बाट स्वीकृत गराएको बजेटको २० प्रतिशत हिसाब गर्दा नौ अर्ब १८ करोड हुन्छ । आइएनजिओले २९ अर्ब २९ करोड र एनजिओले १६ अर्ब ६१ करोड गरी ४५ अर्ब ९० करोड रुपैयाँको बजेट स्वीकृत गराएका थिए ।

तर, आर्थिक वर्षको अन्तिमतिर कोरोना फैलिएको र हालसम्म कतिपय गैरसरकारी संस्थाले अधिकांश रकम खर्च गरिसकेको तथा पूर्व निर्धारित परियोजना रोक्न नमिल्ने भएकाले सरकारले भनेअनुसार बजेट छुट्याउन समस्या रहेको तिनका पदाधिकारीले बताएका छन् ।

तर, सरकारको निर्देशनपछि सोहीअनुसार बजेट निकासा गर्दा गैरसरकारी संस्थाले मूल दातालाई प्रस्ताव गरेका छन् । अधिकांश संस्था अहिले दातृ निकायको अनुमति प्रक्रियामा छन् ।

तर, कोरोना विश्वव्यापी रूपमा फैलिएको र सम्बन्धित मुलुक नै कोरोना संक्रमणबाट प्रभावित भएका कारण आइएनजिओमार्फत आउने सहायता घट्न सक्ने जोखिम रहेको बताउँछन्, अन्तर्राष्ट्रिय गैरसरकारी महासंघ नेपालका अध्यक्ष अच्युत लुइँटेल ।

‘स्वीकृत भइसकेको बजेट नै त कटौती हुने अवस्था नआउला कि भन्ने हो, तर त्यस्तो सम्भावना भने छ,’ लुइँटेल भन्छन् । नयाँ पत्रिका दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७