सभापति लामिछानेसँग रास्वपा सांसदहरूको गुनासो : मधेशमा राज्यको सक्रियता पर्याप्त भएन


२०८३ श्रावण १४ बिहीबार १५:२० बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेश प्रदेशबाट निर्वाचित पार्टीका सांसदहरूसँग छलफल गरेका छन् । सुनसरीको कप्तानगञ्जबाट सुरु भएको तनाव मधेशका विभिन्न क्षेत्रमा फैलिन थालेपछि लामिछानेले पार्टीका मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् ।

रास्वपा सभापति लामिछानेको सचिवालयका अनुसार तराई–मधेशमा सामाजिक सद्भाव कायम राख्ने विषयमा सांसदहरूसँग छलफल गरिएको हो । मधेश प्रदेशबाट निर्वाचित करिब २० जना सांसदसँग लामिछानेले छलफल गरेको सांसद मनिष झाले जानकारी दिए ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले मधेश अहिले सुरक्षा संवेदनशील अवस्थामा रहेको बताए । उनले संघीय सरकार र सिंहदरबारबाट हुनुपर्ने संवेदनशीलता पर्याप्त नभएको भन्दै पार्टी सभापतिलाई अवस्थाबारे जानकारी गराइएको बताए ।

उनले भने, ‘रवि दाइसँग बसेर निस्किएका हौँ। सुरक्षा संवेदनशीलताको अवस्थामा मधेश छ। मधेशलाई जसरी हेरिनुपर्ने हो, संघीय सरकार वा सिंहदरबारको तर्फबाट त्यो संवेदनशीलता पर्याप्त होइन कि भनेर हामीले जानकारी गरायौँ।’

झाले जनकपुरधामको पछिल्लो अवस्थासमेत असहज रहेको बताए । उनका अनुसार बजार, पसल र चोकहरू प्रभावित भएका छन् । उनले भने, ‘आज जनकपुर पनि सुरक्षित देखिएको छैन। सबै पसलहरू बन्द छन्, बजारहरू बन्द छन्, चोक–चोकमा मानिसहरूले टायर बालेर विरोध जनाइरहेका छन्। एउटा निर्वाचित जनप्रतिनिधिका लागि पनि यो सुखद कुरा होइन।’

राज्यको सक्रियता र तत्परता पर्याप्त नभएको आफूहरूले महसुस गरेको झाको भनाइ थियो । उनले तत्काल शान्ति–सुरक्षा कायम गर्न सरकार गम्भीर बन्नुपर्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७