भ्रष्टाचार मुद्दामा सुनिल पौडेललाई साढे ८ वर्ष कैद


२०८३ असार ३२ बिहीबार १५:४५ बजे

काठमाडौं : विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष ६ महिना कैद र डेढ करोड रुपैयाँभन्दा बढी जरिबानाको फैसला सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितका प्रतिवादीहरूले ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित दायर गरेको मुद्दामा बिहीबार अन्तिम फैसला सुनाइएको हो। न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले कसुर ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो।

अदालतले फैसलामा दाबी गरिएको घुस रकम भौतिक रूपमा बरामद नभएको र सो रकम कुन स्थान वा बैंकमा जम्मा भएको भन्ने तथ्य स्पष्ट नभए पनि मुद्दाको प्रकृति र प्रतिवादीहरूको संलग्नता तथा भूमिकालाई आधार मान्दै सजाय तोकिएको उल्लेख गरेको छ।

फैसला अनुसार सुनिल पौडेल र अर्का प्रतिवादी दीपक आनन्दलाई दामासाहीले हुने १ करोड ५४ लाख २५ हजार २ सय रुपैयाँ जरिबाना तिर्नुपर्ने आदेश भएको छ।

कैद सजाय तर्फ दुवै प्रतिवादीलाई ८-८ वर्ष तोकिएको छ भने पौडेल तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा बहाल रहँदा कसुर गरेकाले थप ६ महिना गरी कुल ८ वर्ष ६ महिना कैद सजाय तोकिएको हो। अदालतले दुवै प्रतिवादीलाई जनही ६ लाख १७ हजार ८ रुपैयाँका दरले पीडित संरक्षण कोषमा रकम जम्मा गराउन समेत आदेश दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७