राज्यकै संरक्षणमा सञ्चार गृह अगाडि गाडी तेर्स्याइयो: सुमना श्रेष्ठ


२०८३ असार ३० मंगलबार १०:१७ बजे

काठमाडौं: पूर्वमन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर अवरोध सिर्जना गर्ने र त्यसलाई राज्यले नै संरक्षण गर्ने कार्यप्रति कडा आपत्ति जनाएकी छिन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो कार्यलाई 'क्रोनिजम' अर्थात् आसेपासे पोस्ने प्रवृत्तिको संज्ञा दिएकी छिन्।

सुमनाले हालै काठमाडौंमा सञ्चार माध्यमदेखि सडकमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनताबीचको विश्वासलाई जबर्जस्ती क्षयीकरण गरिरहेको औंल्याएकी छिन्। राज्यको माथिल्लो तहमा बस्नेहरूले सर्वसाधारणलाई ‘पाठ सिकाउने’ नाममा गरिरहेको बुलिङ (धम्क्याउने) प्रवृत्तिले हाम्रो लोकतन्त्र र विधिको शासनमाथि नै गम्भीर प्रश्न उठाएको उनको निष्कर्ष छ।

उनले लेखेकी छिन् 'हिजो हामीले जथाभावी पार्किङ गरिएका गाडीहरूबाट सास्ती भोग्यौँ। सडकको बीचमा गाडी छाड्नेहरूले आफू पूर्ण रूपमा सुरक्षित रहेको महसुस गर्छन्, यो नै आसेपासे पोस्ने क्रोनिजम हो।' शक्तिमा रहुन्जेल जे पनि गर्न सकिन्छ भन्ने नेतृत्वको अल्पकालीन सोचले मुलुकको दीर्घकालीन विकास र समृद्धिका योजनाहरू कहिल्यै सफल नहुने उनको दाबी छ।

जनता र सुरक्षाकर्मीबीच अविश्वास पैदा हुनु कसैको हितमा नभएको बताउँदै सुमनाले प्रहरीको बचाउ गरिन्। स्थानीय सरकारपछिको राज्यको सबैभन्दा नजिकको प्रतिनिधि प्रहरी नै भएको भन्दै उनले सुरक्षाकर्मीलाई दोष दिइरहनु गलत भएको तर्क गरिन्।

उनले लेखेकी छिन्, 'हामीलाई यति छिटो पक्ष लिन बाध्य पारिन्छ कि हामी बिर्सन्छौँ—हाम्रो लडाइँ कहिल्यै बर्दीमा भएका सुरक्षाकर्मीसँग थिएन। यो लडाइँ सधैँ माथिल्लो तहमा बस्नेहरूसँग हो।” शान्ति सुरक्षालाई अर्थतन्त्रको जग मान्दै उनले उद्योग फस्टाउन र अर्थतन्त्र स्थिर रहन शान्ति सुरक्षा पहिलो सर्त भएको बताइन्।

राज्य र जनताबीच निरन्तर घर्षण भइरहँदा जनप्रतिनिधिहरूले पुलको काम गर्न नसकेको भन्दै उनले सांसदहरूको भूमिकामाथि पनि कडा प्रश्न उठाएकी छिन्। “हामी सधैँ आश्चर्यमा पर्छौँ, के उनीहरू साँच्चै जनप्रतिनिधि हुन् वा केवल पार्टी प्रतिनिधि? कि उनीहरू राज्यसत्ताको पालो कुर्दै चुपचाप बसेका हुन्?” उनले प्रश्न गरिन्। सुरक्षाकर्मीलाई आवश्यक पर्ने आधुनिक साधनस्रोत, मानसिक स्वास्थ्य र उनीहरूका गुनासा सुन्ने संयन्त्रका बारेमा सांसदहरूले कहिल्यै आवाज नउठाएको भन्दै उनले सुरक्षाकर्मीलाई केवल दमनकर्ता बन्न बाध्य पारिएकोमा चिन्ता व्यक्त गरिन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७