प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ नियुक्त
काठमाडौं। सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त अध्यक्ष पदमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य प्रेस काउन्सिलका अध्यक्ष थिए। सरकारले अध्यादेश जारी गरेपछि आचार्यसहित काउन्सिलका सबै पदाधिकारी पदमुक्त भएका थिए, जसपछि अध्यक्ष पद रिक्त रहेको थियो।
नवनियुक्त अध्यक्ष श्रेष्ठ पछिल्लो समय नेपालफ्याक्टचेकका सम्पादकका रूपमा कार्यरत थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन्।
तथ्यजाँच (फ्याक्ट–चेकिङ), मिथ्या सूचना नियन्त्रण, डिजिटल अनुसन्धान, डाटा पत्रकारिता र कृत्रिम बुद्धिमत्ता (एआई) को पत्रकारितामा प्रयोगसम्बन्धी क्षेत्रमा उनी लामो समयदेखि सक्रिय छन्। उनी सीएमआर नेपाल जर्नालिजम एकेडेमीका प्रमुख प्रशिक्षकका रूपमा पत्रकारहरूलाई प्रशिक्षण दिँदै आएका छन्।
श्रेष्ठले आफ्नो पत्रकारिता यात्रा सिटी टाइम्स, अप्सरा साप्ताहिक र स्पेस टाइम दैनिकबाट सुरु गरेका थिए। नेपालमा डिजिटल पत्रकारिताको प्रारम्भिक चरणमा उनले परेवा डटकम सञ्चालन गरेका थिए भने चर्चित नेपाली ब्लग माइसंसारको पनि स्थापना गरेका थिए। उनी अहिले पनि ुसालोक्यु नामबाट माइसंसारमा नियमित ब्लग लेख्दै आएका छन्।
यसका साथै उनले नागरिकन्युज, अन्नपूर्ण पोस्ट डटकम र पहिलोपोस्ट डटकममा सम्पादकीय नेतृत्व सम्हालिसकेका छन्। प्रेस काउन्सिल नेपाल सञ्चारमाध्यमको आचारसंहिता कार्यान्वयन, पत्रकारिताको मर्यादा प्रवर्द्धन तथा सरकार र सञ्चारमाध्यमबीच समन्वय गर्ने संवैधानिक निकायका रूपमा परिचित छ।
.gif)

.png)

