यातायात विभागको सर्भरमा समस्या आएपछि कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प

ईडीएलभीआरएस प्रणालीमा प्राविधिक त्रुटि, लाइसेन्स वितरण र सवारी दर्ताका काम रोकिए


२०८३ असार २९ सोमबार १५:०१ बजे

काठमाडौँ : यातायात व्यवस्था विभागको मुख्य सर्भरमा आएको प्राविधिक समस्याका कारण देशभरका यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा ठप्प भएका छन्। विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एण्ड भेहिकल रजिस्ट्रेसन सिस्टम’ प्रणालीमा अचानक समस्या देखिएपछि देशभर सेवा प्रवाह अवरुद्ध बनेको हो।

सिस्टममा देखिएको खराबीका कारण अनलाइन आवेदन, लाइसेन्स प्रिन्टिङ र सवारी दर्ता लगायतका कार्यहरू प्रभावित भएका छन्। समस्या समाधान नभएसम्मका लागि देशभरका यातायात कार्यालयहरूले अनिश्चितकालका लागि सेवा स्थगित भएको जानकारी दिएका छन्।

ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाले एक सूचना जारी गर्दै लाइसेन्स वितरण तथा दुई पाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरण बाहेकका अन्य सम्पूर्ण सेवाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। त्यसैगरी, उपत्यका र उपत्यका बाहिरका अधिकांश यातायात कार्यालयहरूले पनि प्राविधिक समस्याका कारण सेवा प्रवाह गर्न नसकिने भन्दै सेवाग्राहीलाई जानकारी गराएका छन्।

पछिल्लो समय यातायात व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने सरकारी प्रयास भइरहे पनि पटक-पटक सर्भर डाउन हुँदा सेवाग्राहीहरू सास्ती खेप्न बाध्य छन्। विभागले प्राविधिक टोलीमार्फत सर्भर सुचारु गर्ने प्रयास गरिरहेको बताए पनि सेवा कहिलेदेखि सामान्य हुने भन्नेबारे आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।

विभागले सेवा सुचारु भएपछि यसको जानकारी पुनः गराइने जनाएको छ। यसअघि लाइसेन्स र सवारी दर्ताका लागि समय लिएका वा तयारीमा रहेका सेवाग्राहीहरूलाई सिस्टम सुचारु भएपछि सम्पर्क गर्न कार्यालयहरूले आग्रह गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७