अस्पतालबाट माजिदको प्रश्न : मविरुद्ध लक्षित रूपमा गैरकानुनी कारबाही किन गरियो ?

मानव अधिकार आयोगको टोली अस्पताल जाँदै


२०८३ असार २९ सोमबार १०:०७ बजे
फाइल तस्बिर

काठमाडौं :  सुकुम्बासी व्यवस्थापनका लागि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा खटिएका 'जेन्जी' अभियानी माजिद अन्सारी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। शनिबार उद्धार कार्यका क्रममा प्रहरीले लछारपछार गरी नियन्त्रणमा लिँदा उनी गम्भीर घाइते भएका थिए।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत अन्सारीले आफू अस्पतालको शय्याबाटै उपचाररत रहेको जानकारी दिएका छन्। उनले आफूलाई प्रहरीले कुन आरोपमा नियन्त्रणमा लिएको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी नदिएको र पक्राउ पुर्जीसमेत नदेखाइएको भन्दै गम्भीर कानुनी प्रश्न उठाएका छन्।

उनले सोधेका छन्, 'मलाई अहिलेसम्म मेरो पक्राउको कारण बारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ । मेरो पक्राउको कानूनी हैसियत बारेमा पनि कुनै स्पष्टता छैन । के गृहमन्त्री वा प्रहरी प्रमुख ज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानूनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो ?' 

साथै, उनले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षाका लागि संघीय संसदका माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज र अन्तर्राष्ट्रिय मानव अधिकार समुदायलाई सहयोगका लागि अपिल गरेका छन्।

शनिबार होल्डिङ सेन्टरमा उद्धार कार्य चलिरहेको समयमा 'हो-हल्ला' गरेको आरोप लगाउँदै प्रहरीले अन्सारीसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका अन्य दुई जनालाई प्रहरीले यसअघि नै रिहा गरिसकेको छ।

अन्सारीको हकमा भने उनी अझै प्रहरी नियन्त्रणमै छन् वा उपचारका लागि मात्र अस्पतालमा राखिएको हो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ।  अन्सारीको सुरक्षा र अवस्थालाई लिएर थप चिन्ताजनक विवरणहरू सार्वजनिक भएका छन्। प्राप्त सूचना अनुसार, शनिबारदेखि नै उनी अस्पतालमा प्रहरीको कडा निगरानीमा छन्।

रातभर सादा पोशाकका प्रहरीहरूले उनको शय्यालाई घेरा हालेर राखेको र बिहान उनीहरू सीधै अन्सारीको बेडसम्म पुगेको बताइएको छ।अन्सारीलाई गैरकानुनी रूपमा पक्राउ गरी दबाब दिइएको र अस्पतालबाटै जबर्जस्ती लैजान खोजिएको सूचनापछि राष्ट्रिय मानव अधिकार आयोगको टोली अनुगमनका लागि अस्पताल जाँदै छ।

अन्सारीका सहकर्मी अभियानीहरूका अनुसार, उनलाई प्रशासनिक प्रक्रिया अघि बढाउने र सार्वजनिक मुद्दा लगाउने तयारीका साथ प्रशासन कार्यालय लैजान खोजिएको छ। अन्सारीले भने आफ्नो स्वास्थ्य अवस्था र पक्राउको कानुनी प्रक्रियामाथि प्रश्न उठाउँदै राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा मात्र आफू प्रशासनमा उपस्थित हुने अडान राखेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७