‘भाषण होइन, सुशासन चाहिन्छ’ : बालेन सरकारलाई राजेश हमालको सुझाव
काठमाडौं । अभिनेता राजेश हमाल ले बालेन शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै नेपाली जनताले भाषणभन्दा बढी सुशासन, जवाफदेहिता, रोजगारी र न्याय चाहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै हमालले सरकारको पहिलो सय दिनको मूल्याङ्कन घोषणा र प्रतिबद्धताले होइन, सरकारले लिएको दिशा र जनताले अनुभूति गरेका परिणामका आधारमा हुनुपर्ने बताएका छन्।
उनले नेपालले शक्तिशाली राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाबाट प्रभावित नभई आफ्नै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन्। सबैसँग मित्रवत् सम्बन्ध कायम राख्नुपर्ने तर कुनै पनि बाह्य शक्तिको प्रभावले नेपालको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतामा असर पर्न नदिनुपर्ने उनको भनाइ छ।
हमालले हालैका आन्दोलनका क्रममा भएका हिंसा र आगजनीप्रति पनि असन्तुष्टि जनाएका छन्। लोकतन्त्रमा आफ्नो अधिकार प्रयोग गर्ने नागरिक सम्मानका पात्र भए पनि हिंसा र तोडफोडमा संलग्न जोसुकैलाई निष्पक्ष रूपमा कानुनी दायरामा ल्याउनुपर्ने उनले बताएका छन्।
उनले राष्ट्रको वास्तविक शक्ति बलियो संस्था, विधिको शासन र राष्ट्रहितलाई दलगत स्वार्थभन्दा माथि राख्न सक्ने क्षमतामा निहित रहेको उल्लेख गर्दै विभाजनभन्दा विवेक, द्वन्द्वभन्दा संवाद र दलगत निष्ठाभन्दा राष्ट्रप्रेमलाई प्राथमिकता दिन सबैसँग आग्रह गरेका छन्।
राजेश हमालले यसअघि पनि विभिन्न सार्वजनिक अभिव्यक्तिमार्फत सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन्। पछिल्लो स्टाटसलाई पनि सुशासन, जवाफदेहिता र परिणाममुखी शासनको पक्षमा गरिएको सशक्त सन्देशका रूपमा हेरिएको छ।
.gif)

.png)

