‘अन्याय भयो, मेस्सीलाई जोगाउन खोजियो’– इजिप्टका प्रशिक्षक
एजेन्सी । फिफा विश्वकप २०२६ को अन्तिम-१६ मा अर्जेन्टिनासँग ३-२ को नाटकीय हार बेहोरेपछि इजिप्टले रेफ्रीको निर्णयमाथि गम्भीर प्रश्न उठाएको छ।
इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि अन्याय भएको दाबी गर्दै विश्व च्याम्पियन अर्जेन्टिना र कप्तान लियोनेल मेस्सीलाई प्रतियोगितामा कायम राख्ने उद्देश्यका साथ निर्णयहरू भएको आरोप लगाए।
निर्धारित समय सकिन १२ मिनेट बाँकी रहँदा इजिप्ट २–० ले अगाडि थियो र इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने नजिक पुगेको थियो। तर त्यसपछि क्रिस्टियन रोमेरो, लियोनेल मेस्सी र इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनाले ३–२ को अविश्वसनीय पुनरागमन जित निकाल्यो।
भिएआरको निर्णयप्रति असन्तुष्टि
इजिप्टको सबैभन्दा ठूलो असन्तुष्टि भिएआरको निर्णयप्रति देखिएको छ। टोली १–० ले अघि रहेका बेला मोस्तफा जिकोले गरेको दोस्रो गोल भिएआरमार्फत रद्द गरिएको थियो। गोल हुनुअघि मिडफिल्डर मारवान अटियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल गरेको निष्कर्ष निकालिएको थियो।
यस्तै, इन्जुरी समयमा अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहलाई पेनाल्टी क्षेत्रमा फाउल गरिएको दाबी इजिप्टले गरेको छ। तर उक्त घटनाको भिएआर समीक्षा नै नगरिएको भन्दै टोलीले असन्तुष्टि जनाएको छ। खेल समाप्त भएपछि धेरै इजिप्टेली खेलाडी भावुक बन्दै मैदानमै ढलेका थिए।
‘सायद मेस्सीलाई प्रतियोगितामा राख्न चाहन्थे’
खेलपछि प्रशिक्षक होसाम हसनले भने, “हामीमाथि अन्याय भयो। मैदानभित्र र बाहिर धेरै प्रश्न उठ्ने घटनाहरू भए। विश्व च्याम्पियनलाई प्रतियोगितामा राख्न खोजिएको जस्तो देखियो। सायद उनीहरू मेस्सीलाई अझै प्रतियोगितामा राख्न चाहन्थे। अर्जेन्टिनाले सबै तहबाट साथ पाएको महसुस भयो।”
उनले थपे, “हामीले निष्पक्ष खेल देखेनौँ। हाम्रो पेनाल्टी दाबीलाई बेवास्ता गरियो, दोस्रो गोल पनि अचम्मलाग्दो रूपमा रद्द गरियो। खेलमा निष्पक्षता नदेखिएपछि खेलकुदमा न्याय कहाँ रहन्छ ?”
इजिप्टका फरवार्ड मोस्तफा जिकोले पनि रेफ्रीको निर्णयको आलोचना गर्दै भने, “रेफ्रीको निर्णय अन्यायपूर्ण थियो। खेल सुरु भएदेखि नै हाम्रो टोलीप्रति निष्पक्ष व्यवहार भएन।”
इजिप्टको बहिर्गमनसँगै विश्वकपमा अफ्रिकी राष्ट्रमध्ये अब मोरक्को मात्र बाँकी रहेको छ। चार वर्षअघि अफ्रिकाबाट पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोले यसपटक क्वार्टरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
.gif)

.png)

