संवैधानिक इजलास गठन प्रक्रियामा बारको आपत्ति, प्रधानन्यायाधीशलाई गरायो ध्यानाकर्षण

संवैधानिक इजलासमा न्यायाधीश छनोट वरिष्ठताका आधारमा गर्न बारको माग


२०८३ भदौ २ मंगलबार १८:४१ बजे

काठमाडौं : नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाउँदै प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित सर्वोच्च अदालतका सबै न्यायाधीशको ध्यानाकर्षण गराएको छ। निश्चित मापदण्ड, स्थापित अभ्यास तथा मुद्दाको विषयवस्तुको गाम्भीर्यलाई आधार नबनाई संवैधानिक इजलास गठन हुने गरेको भन्दै बारले असन्तुष्टि जनाएको हो। मापदण्ड र स्थापित अभ्यासविपरीत गठन भएको इजलासबाट हुने आदेश तथा फैसलाको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने बारको भनाइ छ।

बार महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा संवैधानिक इजलास गठनका विषयमा बारले यसअघि पनि पटक–पटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ। बारले संवैधानिक इजलासमा न्यायाधीश छनोट गर्दा पूर्वपरम्पराअनुसार वरिष्ठताका आधारलाई प्राथमिकता दिन माग गरेको छ। वरिष्ठताका आधारमा छनोट गर्न कुनै बाधा भएमा अन्य इजलासमा जस्तै रोष्टरभित्रबाट गोला प्रणालीमार्फत न्यायाधीश चयन गर्नुपर्ने उसको माग छ। न्यायपालिका नेतृत्वबाट बारका माग र सरोकारका विषयमा ठोस निर्णय नभएकाले ध्यानाकर्षणपत्र दिन बाध्य भएको बारले जनाएको छ।

त्यस्तै, अन्य इजलासमा विचाराधीन मुद्दासमेत प्रशासनिक निर्णयका आधारमा पक्षहरूको सहमति र सम्बन्धित इजलासमा छलफल नगरी संवैधानिक इजलासमा पठाइएको भन्दै बारले असन्तुष्टि जनाएको छ। यस्ता अभ्यासले न्यायपालिकाको गरिमा, साख तथा जनआस्थामाथि संकट उत्पन्न हुन सक्ने भन्दै बारले संवैधानिक इजलास गठन तथा मुद्दा स्थानान्तरण प्रक्रियामा निश्चित मापदण्ड र स्थापित अभ्यास पालना गर्न माग गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७