अमेरिकाबाट नेपाल फर्किए दुई ऐतिहासिक पुरातात्त्विक मूर्ति
काठमाडौं । अवैध रूपमा अमेरिका पुर्याइएका दुई ऐतिहासिक तथा धार्मिक महत्वका पुरातात्त्विक मूर्ति स्वदेश फिर्ता ल्याइएको छ। फिर्ता गरिएका सम्पदामा १३औँ शताब्दीको सुनले जलप गरिएको कांस्य पद्मपाणी मूर्ति र १६औँ शताब्दीको बहुरङ्गी काठबाट निर्मित नृत्यदेवीको मूर्ति रहेका छन्।
अमेरिकी दूतावासका अनुसार यी अमूल्य सम्पदाको फिर्तासँगै सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रण तथा धार्मिक एवं ऐतिहासिक वस्तुहरूलाई तिनको मौलिक समुदायमा पुनःस्थापना गर्ने विषयमा नेपाल–अमेरिकाबीचको दीर्घकालीन सहकार्य थप सुदृढ भएको छ।

दूतावासले हालै लागू भएको अमेरिका-नेपाल सांस्कृतिक सम्पदा सम्झौताले अनुसन्धानमा सहकार्य, अवैध तस्करी नियन्त्रण तथा नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणका लागि दुवै देशबीचको संयुक्त प्रयासलाई अझ प्रभावकारी बनाउने जनाएको छ। अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करका अनुसार हालसम्म अमेरिकाबाट नेपालका १२७ वटा पुरातात्त्विक सम्पदा स्वदेश फिर्ता भइसकेका छन्।

उनले यी दुई पवित्र मूर्तिको पुनःस्थापनाले आपराधिक अनुसन्धान, कूटनीतिक समन्वय र समुदायको सक्रिय सहभागितामार्फत पुरातात्त्विक सम्पदाको अवैध तस्करी नियन्त्रण गर्न सकिने उदाहरण प्रस्तुत गरेको बताए। हार्करका अनुसार नयाँ सांस्कृतिक सम्पदा सम्झौताले भविष्यका अनुसन्धानलाई सहयोग पुर्याउनुका साथै अवैध तस्करी नियन्त्रण र नेपालको अमूल्य सांस्कृतिक सम्पदालाई गैरकानुनी बजारमा पुग्नबाट जोगाउन थप बलियो आधार तयार गर्नेछ।

.gif)

.png)

