देशभर मनसुन सक्रिय: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


२०८३ असार २० शनिबार ०६:५६ बजे

काठमाडौं, २० असार – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। यसको प्रभावले कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न भू-भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार संखुवासभाको चैनपुरमा ६८.२ मिलिमिटर, गोब्रेमा ६७.८ मिलिमिटर, सिन्धुपाल्चोकमा ६५.४ मिलिमिटर, नुममा ६०.६ मिलिमिटर र प्यूठानको सेउलीबाङमा ५०.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

शनिबार दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रही तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। महाशाखाका अनुसार हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थान तथा कोशी र बागमतीका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुनेछ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भाग तथा मधेश, कोशी, बागमती र गण्डकीका तराईका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

शनिबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रही बाँकी स्थानमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा पनि वर्षाको आकलन गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७