रास्वपा केन्द्रीय सदस्यमा ३५५ जनाको उम्मेदवारी
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी परेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ भने उम्मेदवारहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन्।
दर्ता भएका उम्मेदवारीमध्ये भूगोल (प्रदेश) तर्फ १७४ जना, खुलातर्फ ८५ जना र समावेशी समूहतर्फ ९६ जना रहेका छन्। उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै विद्युतीय मतदान मेसिन (ईभीएम) मा उम्मेदवारको नाम प्रविष्ट (इन्ट्री) गर्ने काम सुरु हुनेछ। आयोगका अनुसार मेसिनमा नाम इन्ट्री गर्न कम्तीमा ६ घण्टा लाग्नेछ।
महाधिवेशनमा ४,१०० प्रतिनिधि सहभागी छन्। आयोगको अनुमानअनुसार एक प्रतिनिधिले मतदान गर्न करिब १५ मिनेटको समय लाग्नेछ। मतदानका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ, जसबाट एक पटकमा ८० जनाले मतदान गर्न सक्नेछन्। यो प्रक्रियाअनुसार मतदान सम्पन्न गर्न ८ देखि १० घण्टा लाग्ने देखिएको छ।
यसैगरी, प्रवासमा रहेका प्रतिनिधिहरूका लागि पार्टीको आधिकारिक मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। रास्वपाको १५८ सदस्यीय केन्द्रीय समितिमा सभापति १, मनोनित ५१, निर्वाचित ९९ र ७ प्रदेश सभापति पदेन सदस्य रहने व्यवस्था छ। केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्र पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ। रास्वपाको विधानअनुसार पदाधिकारीमा उम्मेदवार बन्न केन्द्रीय सदस्य निर्वाचित हुनु अनिवार्य छ।
.gif)

.png)

