विशेष अदालतद्वारा एमाले उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अनुमति
काठमाडौं : विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुने गरी ७ दिन थुनामा राख्न विभागलाई अनुमति दिएको हो।
यो अनुमतिसँगै अब विभागले पौडेललाई हिरासतमा राखी अनुसन्धान अघि बढाउनेछ भने थप अनुसन्धानका लागि म्याद आवश्यक परेमा पुनः विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ।
पार्टीका संगठनात्मक कार्यक्रमका सिलसिलामा कर्णाली प्रदेशमा रहेका उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। सुर्खेतमा नियन्त्रणमा लिएलगत्तै उनलाई राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याएर म्याद थपका लागि अदालतसमक्ष उपस्थित गराइएको थियो।
पौडेल पक्षका कानुन व्यवसायीहरूले यो पक्राउलाई राजनीतिक प्रतिशोध र प्रमाणविहीन तानाशाही शैली भन्दै म्याद थप नगर्न इजलाससमक्ष जोडदार माग गरे तापनि अदालतले विभागलाई अनुसन्धानका लागि ७ दिनको समय दिएको हो।
.gif)

.png)

