मन्त्रीको जवाफ चित्त नबुझेपछि वेल घेराउ गर्दै हर्क साम्पाङ
काठमाडौं : प्रतिनिधिसभाको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथि मन्त्री गौरी कुमारीले दिएको जवाफलाई लिएर सत्तापक्ष र विपक्षबीच तीव्र विवाद सिर्जना भएको छ।
मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्रीले आफ्नो धारणा राखेपछि सभामुखले उक्त छलफल सकिएको जानकारी गराएका थिए। लगत्तै, श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले आफूले सोधेको 'संगीत, खेलकुद र चलचित्र क्षेत्रलाई उद्योग मान्ने/नमान्ने र सोहीअनुरुप बजेट विनियोजन भए/नभएको" विषयमा मन्त्रीले जवाफ नदिएको भन्दै पुनः स्पष्टीकरण मागे।
सभामुखले 'स्पष्टीकरणमाथि स्पष्टीकरण हुने व्यवस्था नरहेको' भन्दै सांसद साम्पाङलाई आफ्नो स्थानमा बस्न पटक-पटक आग्रह गरे। तर, साम्पाङले मन्त्रीले जवाफ नदिएसम्म नबस्ने अडान लिए। सोही क्रममा रास्वपाका सांसद मनिष झाले प्रतिनिधिसभा नियमावलीको नियम ५४ र ५५ उद्धृत गर्दै मन्त्रीले जवाफ दिन अस्वीकार गर्न सक्ने अधिकार रहेको बताउँदै साम्पाङको व्यवहारलाई 'बालहठ'को संज्ञा दिए। झाको भनाइको प्रतिवाद गर्दै श्रम संस्कृतिकै अर्का सांसद ध्रुवराज राईले नियमावलीको गलत व्याख्या नगर्न चेतावनी दिए।
बैठकको मर्यादा कायम गर्न सभामुखले पटक-पटक गरेको आदेशलाई सांसद साम्पाङले बेवास्ता गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। सभामुखले अर्का मन्त्रीलाई जवाफ दिन समय दिए पनि श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका छन्। सदनको गरिमा जोगाउन सभामुखले गरेको पटक-पटकको आग्रहलाई सांसदहरूले बेवास्ता गरेपछि बैठकको वातावरण थप असहज बनेको छ।
.gif)

.png)

