डेढ वर्षमा १४ पटक हिरासत पुगेँ, झन्डै एक वर्ष हिरासतमै बिताएँ: दुर्गा प्रसाईं
'नेपालको इतिहासमा सबैभन्दा धेरै बन्दी प्रत्यक्षीकरणबाट छुटेको व्यक्ति हो म, ११ पटक छुटिसकेँ'
काठमाडौं : 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान' विसर्जन गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवल शम्शेर राणासँग मिलेर नयाँ राजनीतिक दल खोल्ने तयारीमा रहेका व्यवसायी दुर्गा प्रसाईंले विगत डेढ वर्षको अवधिमा आफू १४ पटकसम्म हिरासत पुगेको दाबी गरेका छन्। प्रस्तावित राष्ट्रवादी शक्ति निर्माणबारे जानकारी दिन आज राजधानीको जमलमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रसाईंले सो कुरा बताएका हुन्।
हिरासत यात्राबारे उल्लेख गर्दै उनले भने, 'डेढ वर्षमा झन्डै एक वर्ष त म हिरासतमा बसेको रहेछु।' उनले केपी ओली, सुशीला कार्की र बालेन शाह प्रधानमन्त्री रहँदाको अवधिमा आफूले झन्डै एक वर्ष जेल जीवन बिताउनुपरेको दाबी समेत गरे।
कार्यक्रममा बोल्दै प्रसाईंले आफू कानुनी रूपमा लडेर पटक-पटक हिरासतमुक्त भएको बताए। 'नेपालको इतिहासमा सबैभन्दा धेरै बन्दी प्रत्यक्षीकरणबाट छुटेको व्यक्ति हो म, ११ पटक छुटिसकेँ,' उनले भने। आफूले राज्य र कानुनभन्दा बाहिर गएर लुक्नुपर्ने वा डर मान्नुपर्ने कुनै पनि गलत काम नगरेकाले न्यायालयबाट पटक-पटक न्याय पाएको उनको भनाइ थियो।
नयाँ दल गठनको पृष्ठभूमिबारे प्रष्ट्याउने क्रममा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि तीव्र असन्तुष्टि जनाए। लिङ्देनले पार्टीका वरिष्ठ नेता दिलविकास राजभण्डारी लगायतलाई कारबाही गरेको प्रसंग निकाल्दै उनले आक्रोश पोखे।
'जसको घरमा पार्टी कार्यालय राखेको छ, उसैलाई कारबाही गरिदिए राजेन्द्र लिङ्देनले,' प्रसाईंले टिप्पणी गरे, 'दिलविकास र धवल शम्शेर भनेको राप्रपाका लागि मणि थिए, तर उनीहरूमाथि अन्याय गरियो।' राप्रपाभित्र असन्तुष्ट रहेका धवल शम्शेर राणा र आफू मिलेर अब देशमा नयाँ राष्ट्रवादी शक्तिको उदय गराउने दाबी गर्दै उनले आगामी राजनीतिक यात्रा चुनौतीपूर्ण भए पनि पछि नहट्ने संकल्प दोहराए।
.gif)

.png)

