किन मिले धवल शमशेर र दुर्गा प्रसाईं ?
हिन्दू अधिराज्य र राजतन्त्रको लागि नयाँ राजनीतिक दल गठन गर्ने सहमति
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका नेता डा. धवलशमशेर राणा र ‘नागरिक बचाउ महाअभियान’ का नेतृत्वकर्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने सहमति गरेका छन्। लामो समयको राजनीतिक संवादपछि उनीहरूले शुक्रबार नयाँ दल गठनको आधार तयार पार्दै ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। राजसंस्था र हिन्दूराष्ट्र स्थापनालाई उनीहरूले पार्टीको मुख्य कार्यभार भनेका छन्।
किरात र बौद्धसहितको वैदिक सनातन हिन्दू अधिराज्य तथा राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिज्ञा दुवै पक्षले गरेका छन्। संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता महसुस गरी नयाँ दल गठन गर्नुपरेको सहमतिपत्रमा उल्लेख छ। साथै, पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन अङ्गाल्ने नीति लिइएको छ।
त्यसैगरी, सुधारमुखी सङ्घीयता, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ को अवधारणा र दोहोरो नागरिकता राख्न पाउने व्यवस्थामा पनि दुई पक्षबीच सहमति भएको छ। विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, सङ्गठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा गर्ने समझदारी गरिएको छ।
समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईंले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन्। मलमास सकिएलगत्तै नयाँ पार्टीको घोषणा हुने बताइएको छ। प्रसाईंले राजसंस्था र हिन्दूराष्ट्र स्थापनाका लागि अब आफूहरू सहयात्रामा जुटेको बताए। उनले भने, ‘हामीबीच केही पनि भागबण्डा गर्नु छैन। हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो।’ प्रसाईंले आफ्ना समूहका कार्यकर्तालाई आजदेखि धवलशमशेरलाई पनि नेता मान्न निर्देशन दिएका छन्।
यता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने डा. धवलशमशेरलाई ‘खुट्टामा पलाएको ऐँजेरु’ को संज्ञा दिएका छन्। उनले भने, ‘मैले तपाईंहरूलाई आश्वस्त पार्न मात्रै भनेको कुरा होइन। खुट्टामा पलाएको ऐँजेरु, जुत्ता लाउन पनि काम नदिने, अप्ठ्यारो हुने, हिँड्न पनि अप्ठ्यारो हुने, काटेर फ्याँक्नुपर्ने, आफ्नै जिउको मासु, फ्याँक्नुपर्ने भइराखेको बेला आफैँ झरेर गयो। पार्टीको नेता, कार्यकर्ता भनेको, पार्टीको समर्थक भनेको चुनावको लागि काम गर्ने होइन र? चुनावमा चाहिने होइन र? चुनावमा उम्मेदवार पनि नबन्ने, उम्मेदवारलाई भोट दिन पनि नजाने, यो पार्टीलाई राष्ट्रिय पार्टी पनि बन्न दिनु हुँदैन भनेर भन्ने मानिसहरू पार्टी छोडेर गए त त्यसमा के दुःख मान्नुपर्यो र?’
उनले चुनावमा धवलशमशेर कुन–कुन जिल्लामा, कहाँ–कहाँ भोट माग्न हिँड्नुभएको थियो भन्दै प्रश्न गरे। उनले थपे, ‘पार्टीले उम्मेदवार सिफारिस गरेर पठायौँ। मान्छे नै आएन। उठ्ने बेलामा झन् अरू साथीहरू उठेर यो सीट खाली गरिदिनुभएन। मनोनयन पत्र आफैँ दिएर गायब हुनुभयो। भोट दिन पनि आउनुभएन। अनि त्यस्ता साथीहरूले हिजो पार्टी छोडे भन्दैमा राप्रपामा भुईँचालो हुन्छ र? त्यसको कुनै अर्थ छैन। देशभरि अरू पनि अधिकांश अपवादको रूपमा कोही हुलमुलमा परेका होलान्, तर अधिकांश मानिसहरू त्यस्तै मानिस छन् भन्ने त बुझ्नुस्।’ उनले पार्टीका नेता–कार्यकर्तालाई विचलित नहुन आग्रह गरे।
.gif)

.png)

